सिरहा — सिरहाको गोलबजार नगरपालिका-९ की १३ वर्षीया बालिका गुल्सना खातुनको खेतमा थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको पुष्टि भएको छ ।
फागुन २९ गतेदेखि नै घरबाट बेपत्ता रहेकी गुल्सनाको शव चैत १२ मा छेउकै घुर्मी खोला किनारमा बोराभित्र बेरिएको अवस्थामा खाल्डोमा भेटिएको थियो ।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीले दुई साताको अनुसन्धानपछि मृत्युको कारण सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, मिर्चैयाको संयुक्त टोलीले अनुसन्धान गर्दा घाँस काट्न गएकी गुल्सनाको स्थानीय वीरबहादुर सार्कीको मकै खेतमा जनावरका लागि थापिएको विद्युतीय धरापमा परेर मृत्यु भएको निष्कर्ष निकालेको छ।
मृत्युको घटना लुकाउन सार्कीले शव खाल्डोमा गाडेको प्रहरीले बताएको छ । सार्कीलाई प्रहरीले शनिबार नै पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले ज्यान सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बताए ।
