सप्तरी — सप्तरीको राजविराज विमानस्थलमा घाँस काट्नेको बदमासीले सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय बासिन्दाले घाँस काट्न विमानस्थल सुरक्षाका लागि लगाइएको तारजाली ठाउँ–ठाउँमा काटिदिँदा सुरक्षा चुनौती थपिएको हो ।
‘घाँस काट्नेहरूले लुकिछिपी पटक–पटक तारजाली काटिदिँदा हैरानी खेप्न बाध्य छौं, मर्मत गर्छौं फेरि काटिदिन्छन्,’ नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख ध्रुवराज श्रेष्ठले भने, ‘अहिले पनि ४/५ ठाउँमा तारजाली काटिएको छ ।’ तारजाली काटिदिँदा सुरक्षा चुनौती थपिने गरेको उनले बताए ।
‘तारजाली काटिएको ठाउँबाट कुकुर, बिरालो वा अन्य जनावर विमानस्थलभित्र पस्ने खतरा रहन्छ, यसले उडान वा अवतरणका बेला समस्या ल्याउन सक्छ,’ उनले थपे, ‘पटक-पटक तारजाली मर्मत गर्न बजेट पनि हुँदैन, सुरक्षामा खटिएका प्रहरीले निगरानी गर्दा पनि तारजाली काट्ने क्रम रोकिएको छैन ।’
विमानस्थलको पश्चिमतर्फका घरका बासिन्दाले विमानस्थल परिसरलाई नै आँगन बनाएका छन् । उनीहरूले लुगाफाँटा सुकाउनेदेखि भाँडा माझ्नेसम्म पनि विमानस्थल परिसरमै गर्दै आएका छन् । ‘घर त निजी जग्गामै छ तर विमानस्थलतर्फ पनि तारजाली काटेर बाटो बनाइसकेका छन्,’ प्रमुख श्रेष्ठले भने, ‘बुझाउँछु तर फेरि त्यही गर्नुहुन्छ, त्यसैले हामी ठोस निकासका लागि स्थानीय सरकारलाई पत्र काटेरै आग्रह गरेका छौं, सुनुवाइ अझ हुन सकेको छैन ।’
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवले ती विषय जानकारीमै नरहेको बताए । ‘ती विषय मेरो जानकारीमै छैन, मैले पत्र पनि पाएको छैन,’ उनले भने, ‘तर त्यस्तो समस्या रहेछ भने म पहल गर्छु ।’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि विमानस्थलमा तारजाली काटिएको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए । ‘विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर नेपाल प्रहरीका सईको नेतृत्वमा सुरक्षाकर्मीको टोली राखिएको छ,’ उनले भने, ‘तारजाली काटिएको विषयमा आफूसमक्ष जानकारी आएको छैन ।’
