पर्सा — प्रहरीले वीरगन्जबाट चार भारतीयलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । उनीहरूलाई बुधबार साँझ साढे ६ बजे वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय तथा ईनर्वा चौकीबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारत विहार राज्य जिल्ला पुर्वी चम्पारण थाना रक्सौल वडा नं १४ मौजे बस्ने ३७ वर्षीय कृष्णा कुमार सहितको टोली भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको सूचना अनुसार प्रहरीले उक्त चेकजाँच गरेको थियो ।
त्यस क्रममा बीआर ०६ डिइ ०००७ नम्बरको कालो स्कारपियो गाडीलाई रोकी जाँच गर्ने क्रममा उक्त गाडीको पछाडिपट्टिको डिक्कीभित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागुऔषध खैरो हेरोइन दुई वटा पोका फेला परेको थियो । एउटा पोकाभित्र एक सय ग्राम र अर्को पोकाभित्र १ सय २० ग्राम गरी जम्मा २ सय २० ग्राम हेरोइन फेला परेको हो ।
पक्राउ पर्ने ३ अन्यमा भारत विहार रक्सौल वडा नं–१३ का ३८ वर्षीय सुधिर कुमार, ४८ वर्षीय अमित कुमार र गाडी चालक रक्सौल ग्राम सिसवा–१ का २७ वर्षीय राजा कुमार रहेका छन् ।
पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट बिहीबार पाँच दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
