तराईमा चैते छठको रौनक 

चैत्र २१, २०८१

शंकर आचार्य

The splendor of Chaite Chhath in Terai

पर्सा — तराई मधेशमा बिहीबार चैते छठ पर्वको रौनक छाएको छ । साँझ घाटहरुमा व्रतालु तथा दर्शनार्थीहरुको चहलपहल देखिन्थ्यो । बुधबार साँझ स्याउ रोटी खाएका व्रतालुहरुले बिहीबार दिनभरि निर्जल निराहार बसेर घर नजिकका घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । 

शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको चैते छठ पर्व सम्पन्न गर्ने छन् । व्रतालुहरुले अस्ताउँदो र उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरीवल, केरा, अदुवा आदिको अर्घ्य दिन्छन् । वीरगन्जको घडिअर्वा पोखरी, रानीघाट लगायतका घाटमा भक्तजन र दर्शनार्थीहरुको भीड देखिएको छ ।  

तराईमा चैते छठभन्दा कात्तिके छठमा बढी व्रतालु हुने गर्छन् । पछिल्लो केही वर्षयता भने चैते छठ मान्नेहरुको संख्या पनि बढेको स्थानीयको भनाइ छ । छठको व्रत लिँदा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरु सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास छ । 

The splendor of Chaite Chhath in Terai

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully