रौतहट — रौतहटको वृन्दावन नगरपालिका–१ बिश्रामपुरस्थित जंगलमा सात दिनदेखि बेपत्ता महिलाको बिहीबार शव फेला परेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
वृन्दावन–१ बलेरी खोरका रुपन राउत पटेलको श्रीमती ४५ वर्षीया फूलमतिया देवीको जंगलमा गाडेको अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार घरबाट झण्डै डेढ किलोमिटर पूर्व जंगल छेउमा बनाएको गोठबाट घर फर्किने क्रममा चैत १४ गते साँझ फूलमतिया बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा भोलिपल्ट घर नजिकै सय मिटर पूर्व मकैबारीमा उनको चप्पल र साडी फेला परेको थियो ।
घटनापछि पीडित परिवारले खोजतलासका लागि प्रहरी कार्यालमया निवेदन दिएका थिए । फूलमतिया बेपत्ता भएको आठौं दिनमा डीएसपी कार्कीको कमाण्डमा खटिएको टोलीले खोजी गर्दा बलेरी खोरस्थित रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो । उनको हत्या हो वा होइन भन्ने अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । ‘बरामद महिलाको शव सनाखत भइसकेकाले कसले र किन हत्या गरेको हो भन्ने खुल्न बाँकी छ,' उनले भने,‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । चाँडै कारण पत्ता लाग्छ ।’
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृन्दावन–१ का जितेन्द्र पटेल र सुशील विश्वकर्मालाई पक्राउ गरेको छ । दुवैसँग प्रहरीले सोधपुछ गरेको जनाएको छ ।
