भन्सार छलेको सामानसहित एकजना पक्राउ

चैत्र २०, २०८१

शिव पुरी

One person was arrested with customs evaded goods

रौतहट — रौतहट प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्कबाट सवारी जाँचको क्रममा बुधबार भारतबाट भन्सार छलेर ल्याइएका सामानसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेको व्यक्ति पेसेवर तस्कर हो/होइन भन्ने प्रहरीले अनुसन्धान थालेको छ । 

प्रहरीले बसपार्कमा विभिन्न सवारीहरु जाँच गर्ने क्रममा झण्डै १ करोड मूल्य बराबरको किराना पसलका सामान बरामद गरेको जनाएको छ । प्र–२–०३–००१ ज १३१ नम्बरको पिकअप गाडीमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सामानसहित कटहरीया नगरपालिका–५ घर भएका २२ वर्षीय चालक निरजकुमार साह पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । ‘पक्राउ परेका चालक साह सवारी धनी हुन् वा पेसेवर तस्कर भन्ने अनुसन्धान गरिरहेका छौं,' उनले भने,‘भन्सार छलेर भारतबाट सामान ल्याउँदै गरेको अवस्थामा बसपार्कबाट नियन्त्रणमा लिएका हौं ।’ 

जिल्ला प्रहरी र मातहतका प्रहरीले संयुक्त रुपमा सवारी जाँचमा खटेको बेला सामान बरामद गरेको हो । केही दिनयता भारतबाट भन्सार छलेर सामान भित्रिने क्रम बढेको छ । पोके र ठूला तस्करले पारिबाट सामान भित्र्याउने गरेका हुन् । भन्सारको मुख्य गेटबाट पोके तस्करले सामान ल्याउने गरेको दृश्य दिनहुँ देख्न सकिन्छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully