अवस्था तनावग्रस्त बनेपछि सीडीओसहित प्रहरी अधिकारी पुगे वीरगन्ज बाल सुधारगृह

चैत्र १९, २०८१

शंकर आचार्य

After the situation became tense, the police officer along with the CDO reached Birgunj Children's Reformatory

पर्सा — वीरगन्जस्थित बाल सुधारगृहमा आश्रित बाल कैदीबन्दीले मंगलबार नाराबाजीसँगै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त भयो । दिउँसो १२ बजेदेखि आधा घण्टा उनीहरुले गृहको पश्चिमतर्फको बार्दलीबाट नाराबाजीसहित प्रदर्शन गरेका थिए । 

सोमबार मधेश प्रदेश महान्यायाधिवक्ता कार्यालय तथा मंगलबार बिहान जिल्ला सरकारी वकिलको कार्यालयबाट अधिकारीहरु आएर सोधपुछ गरेर फर्किएपछि बाल कैदीबन्दी भड्किएका थिए । दिनहुँजसो कोही न कोही अधिकारी आएर आफूहरुको समस्या बुझेर जाने तर आधारभूत आवश्यकतासमेत पूरा नहुने गरेको उनीहरुको भनाइ छ ।

स्थिति तनावग्रस्त बन्ने देखिएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, डीएसपी किशोर लम्साल, सशस्त्र प्रहरीका डीएसपी देवेन्द्रबहादुर सिंह लगायतका सुरक्षा अधिकारी दिउँसो करिब २ बजे सुधारगृह पुगेर बाल कैदीबन्दीको गुनासो आफैले सुनेका थिए ।

त्यस क्रममा बालकैदीबन्दीले आफूहरुलाई गृहमा कोचेर राखिएको गुनासो सुरक्षा अधिकारीसमक्ष गरेका थिए । यसका साथै गृहमा पढ्ने, संगीत तथा भाषागत तालिम लिनेजस्ता सुविधा नहुँदा समय कटाउन मुस्किल भएको उनीहरुले गुनासो गरेका थिए । 

बढेको गर्मीसँगै पंखा तथा खानेपानीको उचित व्यवस्थापन लगायत २२ सूत्रीय मागपत्र आफूहरुले गृहका प्रशासन प्रमुखलाई केही दिनअघि बुझाएकामा कुनै पनि सुनुवाइ नभएको बाल कैदीबन्दीको गुनासो रहेको छ । सोलार बत्ती, पंखा र ग्यास फ्यान, शौचालयमा ढोका, इमरजेन्सी लाइट, जाली ढोका, कपी, कलम, डस्टबिन, कुलर, बल्ब, धाराको टुटी, बालुवा प्रयोग हुने फिल्टर, कराइ आदि उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । 

प्रहरी उपरीक्षक मिश्रले बाल कैदीबन्दीको माग सामान्य रहेकाले ती पूरा गराउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गृहमा रहेका न्यूनतम मानवीय आवश्यकताका माग तत्कालै सम्बोधन हुने प्रतिबद्धता जनाए । आफूले एक साताभित्रै गृहको करिब सबै माग पूरा गराइसक्ने आश्वासन पनि दिए ।

गृह साँघुरो भएकाले वीरगन्जकै परवानीपुरमा रहेको ३ बिघा जग्गामा नयाँ बाल सुधारगृह भवन निर्माणका लागि पहल गरिरहेको पनि प्रजिअ अर्यालले बताए । 

गृहका निमित्त प्रमुख कृष्णप्रसाद साहले ५० जना क्षमता भएको गृहमा हाल १ सय २७ बाल कैदीबन्दी राख्नुपरेको बताए । गृहमा जम्मा ९ वटा कोठा रहेको छ । कोठाको आकार अनुसार ७/८ जना देखि २०/२५ जना सम्मलाई एउटै कोठामा राखिएको छ ।

गत वर्ष गृहमा २ पक्षबीच झडप हुँदा लामो समय तनावग्रस्त बनेको थियो । मधेश प्रदेशको एक मात्र बाल सुधारगृह भएकाले यहाँ बाल कैदीबन्दीको संख्या सधैं उच्च रहने गरेको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully