मुख्यमन्त्रीको निर्देशन दुई दिन पनि टिकेन, मिर्चैयाका अवैध अस्पताल निर्बाध सञ्‍चालनमा

चैत्र १८, २०८१

विनय आजाद

The Chief Minister's directive did not last even two days, the illegal hospital in Mirchaiya was in uninterrupted operation

सिरहा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द भएका मिर्चैयाका अवैध अस्पताल दुई दिनमै निर्बाध रूपमा सञ्चालनमा आएको छ । मुख्यमन्त्रीले शनिबार मात्रै बन्द गराएका १३ वटै अस्पताल सञ्चालनमा आएको हो ।

मुख्यमन्त्री सिंहले शनिबार साँझ यहाँका १४ वटा निजी अस्पताल अनुगमन गर्दा १३ वटा बिनादर्ता र बिनानवीकरणका भेटिएका थिए । ती अवैध अस्पतालहरूले चर्को शुल्क लिएर मनलाग्दी उपचार र नागरिकको ज्यानसँग खेलवाड गर्दै आएको भेटिएपछि उनले तत्कालै पत्र काट्दै बन्द गराएका थिए । 

सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर, शान्ति हेल्थ केयर, श्रीराम डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिकलाई बन्द गराइएको थियो ।

तीमध्ये केही अस्पताल आइतबार पनि फाट्टफुट्ट खुलेका थिए । तर, सोमबार भने बिहानैदेखि बन्द गराइएका सबै अस्पताल निर्वाध चलिरहेका छन् । मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रदेश सरकारको निर्देशन अवज्ञा गर्ने अनधिकृत अस्पताल सञ्चालन हुन नदिन जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

'यो कुरा मुख्यमन्त्रीज्यूको जानकारीमा आएको छ,' उनले कान्तिपुरसित भने, 'ती अस्पताललाई तत्काल बन्द गराउन तथा आवश्यक परे सञ्चालकलाई नियन्त्रणमा लिन उहाँले सुरक्षा अधिकारीहरूलाई भर्खरै निर्देशनसमेत दिनुभएको छ ।'

संघीय तथा प्रादेशिक ऐन तथा नियमावली, स्वास्थ्यसेवा सञ्चालन मापदण्डसम्बन्धी संघीय निर्देशिकालगायतका कानुनले सेवा सञ्चालन अनुमतिबिना वा तोकिएकोभन्दा बढी स्वास्थ्यसेवा प्रदान गर्ने कार्यलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully