मधेशका अस्पतालमा बेथिति : बाहिर बोर्डमा सेवा बन्द, भित्रभित्रै बिरामी भर्ना

चैत्र १८, २०८१

अजित तिवारी

Disturbance in Madhesh Hospital: Service stopped outside the board, patients admitted inside

जनकपुर — मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बन्द गर्ने निर्देशन अटेर गर्दै गोप्य तरिकाले सञ्चालनमा रहेको जनकपुरधामस्थित एउटा अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पुनः बन्द गराएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवन शिलान्यास गरी मुख्यमन्त्रीको सरकारी निवासतर्फ फर्कँदै गर्दा अनिश्चितकालका लागि सेवा बन्द बोर्ड मूल गेटमा झुन्ड्याइए पनि त्यस वरपर शंकास्पद गतिविधि देखिएपछि मुख्यमन्त्री सिंहले अुगमन गर्दा जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको अवस्था पाइएको छ ।

अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँसे पनि भित्र पाँच जना बिरामीलाई भर्ना गरी उपचार गरिरहेको मुख्यमन्त्री सिंहले भेटेका थिए । 

जबर्जस्ती र सरकारी निकायलाई झुक्याउने गरी अवैध ढंगले अस्पताल सञ्चालन गरिरहेका अस्पतालका सञ्चालक व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती दुवैलाई जिल्ला प्रहरी कार्यलय धनुषामा राखिएको छ । 

सेवा सञ्चालन अनुमति नरहेको र अस्पतालका लागि चाहिने न्यूनतम मापदण्डसमेत पूरा नगरेको सो अस्पताललाई मुख्यमन्त्री सिंहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमन क्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्ने निर्देशन दिएको थियो ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully