हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा १० राउन्ड अश्रुग्यास प्रहार

प्रहरीले बल प्रयोग गरेपछि खुल्यो जनकपुर-जलेश्वर सडक

चैत्र १७, २०८१

अजित तिवारी

10 rounds of tear gas fired at a demonstration demanding action against those involved in the murder

जनकपुर — होली पर्वका दिन छुरा प्रहारबाट भएको अंशु यादवको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार अवरोध गरिएको जनकपुर–जलेश्वर सडक प्रहरीले बल प्रयोग गरेर सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी वरुणबहादुर सिंहका अनुसार बिहान ९ बजेदेखि सडक अवरोध गरेर प्रदर्शनमा उत्रिएका स्थानीयलाई तितरबितर गर्न सुरक्षाकर्मीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । ‘म घटनास्थलतिरै छु । अहिले स्थिति नियन्त्रणमा आएको छ,’ डीएसपी सिंहले भने ।

आइतबार बिहानैदेखि जनकपुर–जलेश्वर सडक खण्डको बिन्धीमा स्थानीयले टायर बालेर अवरुद्ध गरेका थिए । सडक खुलाउन गएका सुरक्षाकर्मीलाई ढुंगामुढा गर्दै लखेटेका थिए । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको हो । झडपमा दर्जनौं स्थानीय र सुरक्षाकर्मी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

10 rounds of tear gas fired at a demonstration demanding action against those involved in the murder

गत चैत २ गते जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा १५ वर्षीय अंशु यादवलाई छुरा प्रहार गरिएको थियो । कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले उनलाई घरबाट बोलाएर छुरा प्रहार गरी हत्या गरेको पीडित पक्षको भनाइ छ । घटनापछि महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

हत्यामा संलग्न भनिएका अन्य भारतमा लुकेर बसेकाले पक्राउ गर्न ढिलाइ भइरहेको धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully