सिंगो दलित बस्तीमा एउटा मात्र ट्युबवेल

चैत्र १६, २०८१

विद्यानन्द राम

Only one tubewell in the entire Dalit settlement

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा (मुसहर) बस्तीमा ९० परिवारको बसोबास छ । जनसंख्या चार सयभन्दा बढी छ । तपाईंलाई अचम्म लाग्ला, पानी पिउनेदेखि हातमुख धुने, नुहाउने र भाँडा माझ्नेसम्म उनीहरू एउटै ट्युबवेलको भर परिरहेका छन् ।

‘एकाबिहान हातमुख धुन र पानी भर्नका लागि लाइनमै बस्नुपर्छ,’ ३८ वर्षीया सोमिन्द्रदेवी सदाले भनिन्, ‘हामीजस्ता निमुखाको समस्या कसले बुझ्छन् ? सिंगो बस्तीका दलित समुदायलाई यही एउटा ट्युबवेलको भर पर्नुपरेको छ ।’

पालैपालो पानी भर्न र भाँडा माझ्न अप्ठयारो नभए पनि नुहाउन समस्या हुने गरेको उनी दुखेसो पोख्छिन् । ‘अरु त ठिकै हो तर नुहाउन बहुत गाह्रो हुन्छ,’ उनले भनिन्, ‘यो ट्युबवेल पनि कति भनसुन गरेपछि मुखिया (वडाध्यक्ष) ले दिनुभएको छ, थप ट्युबवेलका लागि पहल गरिदिए हुने थियो ।’

यो ट्युबवेल दुई वर्षअघि वडा कार्यालयबाट दिएको हो । ‘त्यसअघि बस्तीमा ३ वटा ट्युबवेल थियो तर अत्यधिक आइरनले पानी रातो न रातो थियो, यो ट्युबवेलमा भने आइरन छैन,’ ४० वर्षीय नेमन सदाले भने, ‘त्यसैले सबै यही ट्युबवेलबाट पानीको उपभोग गर्न थाले, पहिलेको तीनवटै ट्युबवेल पनि काम नलाग्ने भइसकेको छ ।’ 

Only one tubewell in the entire Dalit settlement

एउटा मात्र ट्युबवेल हुँदा नुहाउन बढी समस्या पर्ने गरेको उनले बताए । ‘नुहाउनका लागि पर्खियो भने १० बज्छ, ढिलो भएर काम पाउनै मुस्किल हुन्छ,’ उनले भने, ‘पछिल्लो पटक कहिले नुहाएँ त्यो याद पनि छैन ।’ 

विद्यालयमा ट्युबवेल न शौचालय
सो बस्तीका बालबालिकालाई पढ्न छुट्टै दलित राष्ट्रिय प्राथमिक विद्यालय छ । बालविकासदेखि कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा ५४ जना छात्र र ६८ छात्रा गरी १ सय २२ जना बालबालिका छन् । दुईवटा कोठामै बहुकक्षा (बालविकासदेखि ४ कक्षा) सञ्चालन हुँदै आएको सो विद्यालयमा न ट्युबवेल छ, न त शौचालय नै ।

‘यसअघि हामीले पुरानो भवनबाटै पठनपाठन गराउँदै आएका थियौं, त्यहाँ पनि दुई वटा कोठा मात्रै छ,’ विद्यालयकी प्रधानाध्यापक इन्द्रिरा ठाकुरले भनिन्, ‘गत वर्ष प्रदेश सरकारले दुईकोठे नयाँ भवन बनाइदिएपछि यहीँबाट पठनपाठन गरायौं तर भवन फिनिसिङ नहुँदै बजेट सकियो, घेराबेरा पनि भएको छैन ।’

Only one tubewell in the entire Dalit settlement

ट्युबवेल र शौचालयका लागि स्थानीय तहसँग समन्वय भइरहेको उनले बताइन् । ‘अहिले बालबालिका पानी पिउन र शौचालय प्रयोग गर्न पुरानै भवनमा जान्छन्,’ उनले भनिन्, ‘बहुकक्षा सञ्चालन हुँदा विद्यार्थीलाई समस्या नहुने होइन तर यहाँ अभावै–अभाव छ ।’ उनका अनुसार पुरानो भवनमा कार्यालय राखिएको छ ।

स्थानीय बासिन्दाले २०६१ सालमा चन्दा संकलन गरेर स्थापना गरेको सो विद्यालयमा प्रधानाध्यापकसहित दुईजना बालविकास शिक्षिका, एक जना शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले छिट्टै सो बस्तीमा ट्युबवेल जडान गर्ने बताए । ‘दलित बस्तीमा ट्युबवेल अभाव रहेको विषयमा जानकारी थिएन, छिट्टै ट्युबवेल जडान भइहाल्छ,’ उनले कान्तिपुरसँग भने ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully