पत्रकारको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणविरुद्ध राजविराजमा प्रदर्शन

चैत्र १६, २०८१

विद्यानन्द राम

Demonstration in Rajviraj against the death of journalists and the attack on media houses

राजविराज — राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको घटनाविरुद्ध शनिबार राजविराजमा प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, सप्तरीको अगुवाईमा विभिन्न मिडियामा कार्यरत पत्रकारले प्रदर्शन गरेका हुन् । पत्रकारको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, अराजकताको अन्त्य गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । 

प्रदर्शनपछि नेता चोकमा गरिएको कोणसभामा शाखाका अध्यक्ष श्रवणकुमार देवले दिवंगत भएका पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरे ।

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको छ । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन लगायतको कार्यालयमा आक्रमण समेत गरेका थिए ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully