जनकपुर — मुआब्जा विवाद थाँती राखेर ब्रोडगेज रेल र प्लेटफर्म निर्माणका लागि खनिएको माटोको धुलोले बर्दिबासका दुई बस्ती आजित बनेका छन् । करिब दुई वर्षदेखि निर्माण काम रोकिँदा रेल्वे वरिपरि रहेका बस्तीले धुलो खान बाध्य छन् ।
बर्दिबास–४ र त्यससँगै रहेको १४ घर परिवारलाई भने रेल्वेले खनेको ठाउँको धुलो उडेर हैरान बनाएको छ । ‘अहिले त झन् हावाहुरीको मौसम छ । सानो हावा चले पनि घर धुलाम्मे हुन्छ,’ स्थानीय मदन दाहालले भने,‘मुआब्जाका लागि संघर्षमा त छँदै छु । अब, धुलोले पनि पिरोल्न थालेको छ ।’ धुलो उड्दा घर भित्रसम्म पस्छ । प्लास्टिकले बेरेर घरहरू छोपिएको छ ।
‘रेल्वे स्टेसन क्षेत्रको मुआब्जा वितरण भइसकेको छ,’ बर्दिबास रेल्वे संघर्ष समितिका संयोजक नीरज अधिकारीले भने,‘तर, रेल्वेले नापी विभागसँग समन्वय नगर्दा जग्गाको सिमाकंन हुन सकेको छैन । मुआब्जाकै कारण रेल्वेको काम रोकिँदा स्थानीय धुलोले हैरान छ ।’
गत मंगलबार मुआब्जा सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग पीडित किसानहरूको छलफलमा मुआब्जामा देखिएको त्रुटि सच्याउन तयार रहेको आश्वासन दिइएको थियो ।
मन्त्रालयका सचिव शर्माले बर्दिबासमा १४ घरलाई दिइने मुआब्जा सम्बन्धमा गृह र भूमि सुधार मन्त्रालयसँग छलफल गरी छिट्टै समाधान गरिने किसानहरूलाई बताएका थिए । सचिव शर्माको आश्वासन पाएपछि बर्दिबासका किसानहरूले काठमाडौं केन्द्रित रिले अनशन स्थगित गरेको थियो ।
