१७ महिनामै बन्नुपर्ने कोल्ड स्टोर ६ वर्षमा पनि अलपत्र

चैत्र १४, २०८१

विद्यानन्द राम

The cold store, which was supposed to be built in 17 months, is stalled even after 6 years

काठमाडौँ — १७ महिनामा बनिसक्ने भन्दै सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा निर्माण सुरु भएको शितभण्डार (कोल्ड स्टोर) ६ वर्ष भइसक्दा पनि अधूरै भएको छ । २०७५ पुस १६ मा संघीय र प्रदेश सरकार तथा जिल्ला सहकारी संघको साझेदारीमा कुल २५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपैयाँमा बन्ने कोल्ड स्टोरको ठेक्का ललितपुरको आशिष/ओम साईराम जेभीले ठेक्का सम्झौता गरेको थियो ।

संघीय सरकारको ६० तथा प्रदेश सरकार र जिल्ला सहकारी संघ २०/२० प्रतिशतको साझेदारीमा शीत भण्डार निर्माण सुरु भएको थियो ।

जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेशकुमार गुप्ताले निर्माण कम्पनीले कार्य प्रगतिअनुसार भुक्तानी नपाउँदा काम रोकीएको बताए । उनले ०७८ जेष्ठ १८ मा एक वर्ष म्याद थप गर्दा पनि पनि संघीय सरकारबाट रकम भुक्तानी गराउन नसकिएको पृष्ठभूमी बताउँदै भने, ‘पछिल्लो पटक ०८० पुस ६ गते मन्त्रालयबाट नगरपालिकालाई पठाएको पत्रअनुसार स्रोत अभावको कारण देखाउँदै शित भण्डारमा थप बजेट दिन नसकिने व्यहोरा उल्लेख गरिएको छ ।’

उनले ४५ प्रतिशत भौतिक प्रगति भएको कोल्ड स्टोरमा पहिलो र दोस्रो रनिङ बिलमा ६२ लाख ८६ हजार १ सय ६० रुपैयाँ तथा तेस्रो रनिङ बिलमा ३ करोड ६४ लाख ७६ हजार ८ सय २३ रुपैयाँ निर्माण कम्पनीको भुक्तानी गर्न बाँकी रहेको छ । उनले अहिलेसम्म सहकारीबाट १ करोड ८ लाख ५४ हजार ३ सय ६७ रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४ लाख १५ हजार १ सय १८ रुपैयाँ र संघीय सरकारबाट ६ करोड ३६ लाख ३४ हजार ४ सय रुपैयाँ गरी कुल ८ करोड ४९ लाख ३ हजार ८ सय ८५ रुपैयाँ डिपिआरसहितका कार्यमा खर्च भइसकेको बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully