राप्रपालाई ५/६ प्रतिशतले पनि पत्याएका छैनन्, राजा चाहिन्छ भनेर चुरीफुरी नदेखाए हुन्छ :  गृहमन्त्री लेखी

चैत्र १४, २०८१

विनय आजाद

Even 5/6 percent do not trust RPP, they don't show their anger that they need a king: Home Minister Lekhi

सिरहा — मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन् । लहानमा बिहीबार आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा मन्त्री लेखीले यस्तो बताएका हुन् ।

अहिलेको व्यवस्था उत्कृष्ट रहेको भन्ने कुराको प्रमाण जनताले निर्वाचनमा खसालेको मत नै भएको उनको भनाइ छ । 'अहिलेको व्यवस्था नै उत्कृष्ट व्यवस्था हो,' उनले भने, 'राजतन्त्रको एजेन्डा बोकेर राप्रपाहरू राजनीतिमै छन्, तर ५-६ प्रतिशत नागरिकले पत्याएका छैनन्, त्यसैले चुरिफुरी नदेखाए हुन्छ ।'

मुलुकमा निरंकुश राजतन्त्रका बेला राजाका अनुयायीहरूले जथाभावी गर्न पाएको र अहिले नपाउँदा उनीहरूले नागरिक असन्तुष्टिको आडमा राजतन्त्रको हल्ला चलाएको उनको भनाइ छ । जनताले आफैं बलिदानपूर्ण संघर्षबाट संघीयता, समावेशीता, समानुपातिक निर्वाचन प्रणालीलगायतका उपलब्धि ल्याएको र यसको विपक्षमा कोही नभएको उनले बताए ।

'मुलुकमा कुनै बेला एउटा वंशले राज गर्थे, अहिले जनताका छोराछोरीले देश हाँक्न पाएका छन्,' उनले भने, 'यो व्यवस्था र संविधानले मुलुकका सबै नागरिकको सहभागिता सुनिश्चित गरेको छ, त्यसैले यो व्यवस्थाको विपक्षमा कोही पनि छैनन् ।'

तर, मुलुकमा गडबडी र बेथिति पनि देखा परेकाले दलहरू सच्चिँदै अगाडी बढ्न जरुरी रहेको लेखीले जिकिर गरे । उनले गडबडी र बेथितिका बारेमा निर्धक्क भएर पत्रकारले लेख्नुपर्ने र यसले व्यवस्थालाई थप मजबुत बनाउने बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully