मुख्य सडक विस्तारको विरोधमा वीरगन्ज बजार आधा दिन बन्द, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चैत्र १४, २०८१

शंकर आचार्य

Birgunj market closed for half a day in protest against main road expansion, memorandum to Prime Minister

पर्सा — वीरगन्ज महानगरको मुख्य सडक २५–२५ मिटर विस्तारको विरोधमा उत्रिएका घरधनी र व्यवसायीले विरोधस्वरूप बिहीबार आधा दिन बजार बन्द गरे । बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल बन्द गरेर उनीहरुले विरोध जनाएका हुन् ।

सडक विस्तारअघि उचित मुआब्जा पाउनुपर्ने माग उनीहरूको छ । सडक विस्तार रोक्नका लागि ‘वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति' नै गठन गरेर संघर्ष थालिएको हो ।

यो समिति साबिकको वीरगन्ज बचाउ संघर्ष समिति मातहतकै समिति रहेको समितिका संयोजक जवाहरप्रसाद गुप्ताले बताए । उनले समितिको चरणबद्ध संघर्ष जारी रहने बताए । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आउनुअघि नै सडक विस्तारको काम सुरु गर्नु गलत भएको उनको भनाइ छ ।

वीरगन्ज–९ का वडाध्यक्ष समेत रहेका गुप्ताले मुख्य सडक २५–२५ मिटर विस्तार गर्दा वीरगन्जको इतिहास र सहरको अस्तित्व मेटिने खतरा रहेको बताए । 

उनले घरधनी र व्यवसायीलाई उचित मुआब्जा नदिई गरिने सडक विस्तारको काम स्वीकार्य नहुने पनि बताए । आफूहरुको मागलाई सम्बोधन नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए । 

वीरगन्जको मुख्य सडक विस्तारविरुद्ध घरधनीले दिएको रिट सर्वोच्च अदालतले फागुन २८ गते खारेज गरेको थियो । त्यसपछि सडक विभागले महानगर कार्यालयसँग समन्वय गरेर सडक फराकिलो गर्ने तयारी सुरु गरेको हो । विभागले महानगरसँग समन्वय गरी नापी कार्यालयमार्फत सडक सीमांकन प्रक्रिया अघि बढाएको छ ।  

वीरगन्ज बचाउ संघर्ष समितिले बिहीबार नै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै मुख्य सडक विस्तारको काम रोक्न माग गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्र तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल समेतको उपस्थितिमा समितिका संयोजक जवाहरप्रसाद गुप्ताले उक्त ज्ञापनपत्र प्रजिअ अर्याललाई बुझाएका थिए । ज्ञापनपत्रमा समितिको माग अविलम्ब पूरा नगरिए संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully