सिरहा — सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा अछूत भन्दै घर भत्काइएका दलित समुदायका दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ । मधेश प्रदेश सरकारले मदन भण्डारी आवास कार्यक्रमबाट दीपकको घर बनाइदिन लागेको हो ।
मधेश प्रदेश सरकारको पाँच लाख ६० हजार बजेटमा निर्माण हुने उक्त घर शौचालय र भान्सासहित दुई कोठाको हुनेछ । घर निर्माण एक साताभित्रै सुरु गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
यसअघि मंगलबार दीपक आवासको बन्दोबस्त गरिदिन माग गर्दै दलित अगुवाहरुसहित मुख्यमन्त्री सिंहलाई जनकपुर गएर भेटेका थिए । ‘पीडित परिवार मकहाँ आउँदा नै मैले घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ,’ मुख्यमन्त्री सिंहले कान्तिपुरसित भने, ‘अब एक साताभित्रै घरको काम सुरु हुन्छ ।’
प्रदेश सरकारको प्रतिनिधिका रुपमा बिहीबार प्रदेशसभा सदस्य संजयकुमार यादव, जिबछी यादवलगायत पीडितको घर नै पुगेका थिए । स्थानीय जनप्रतिनिधि र अगुवाहरुसँग बसेर अहिले सारिएको ठाउँमै ७ धुर जग्गा छुट्याएर घर निर्माणको टुंगो लगाएको प्रदेशसभा सदस्य यादवले बताए ।
अब शुक्रबार आफूले पूर्वाधार विकास कार्यालय, सिरहालाई घरका लागि सिफारिस गर्ने र त्यसलगत्तै प्राविधिक यहाँ आएर घर निर्माण अगाडि बढाउने उनले जानकारी दिए । यस्तै, पीडित परिवारलाई खानेपानी र बिजुलीका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।
प्रदेश सरकारको यो सहयोग विशुद्ध रुपमा पीडितका लागि भएको र पीडितको घर भत्काउने काममा संलग्नमाथि अहिले अघि बढेको कानुनी कारबाही प्रक्रियासँग यसले कुनै सम्बन्ध नराख्ने यादवले बताए ।
औरही–५ मा महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
यो घटना सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ परेर अहिले प्रहरी हिरासतमा छन् । उनीहरुमाथि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय, सिरहाले अनुसन्धान गरिरहेको छ ।
