रौतहट — नेपाल विद्युत् प्राधिकरण हरसाह–चन्द्रनिगाहपुर ३३ केभी प्रसारण लाईनको कन्डक्टर अपग्रेट (पुरानो तार फेर्ने) को काम अवरुद्ध भएको छ । तार राख्ने काममा स्थानीयले रोकेका हुन् । काम रोकिएको क्षेत्रको बुधबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् ।
गर्मी महिनामा विद्युत्को क्षमताभार बढ्ने र कमजोर तारले समस्या आउन थालेपछि प्राधिकरणले ठेक्कामार्फत नयाँ लगाउन थालेको हो । गत आर्थिक वर्षको माघमा वीरगन्जको प्रिति निर्माण सेवाले झण्डै १ करोडको लागतमा तार बदल्ने ठेक्का लिएको थियो । ३ महिनाभित्र काम सक्नु पर्नेमा स्थानीयको अवरोधपछि काम बन्द भएको प्राधिकरणको चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले जानकारी दिए ।
‘हरसाहबाट नयाँ तार फेर्दै आएकोमा चन्द्रपुरमा स्थानीयले दुई महिनादेखि कामै गर्न दिएन,' उनले भने, ‘स्थानीय प्रशासनले अनुगमन गरेको छ । अब काम अघि बढाउन भनेको छ । चाँडै काम सुरु हुन्छ ।’ हरसाहबाट चन्द्रनिगाहपुरसम्मको १३ किलोमिटरको पुरानो तार बदलेर नयाँ र माटो लगाउने प्राधिकरणको योजना छ ।
गर्मीको मौसमा पुरानो तारले क्षमता थेग्न नसक्ने र झरेर दुर्घटना हुने सम्भावना बढेपछि नयाँ तार लगाउन लागेको प्राधिकरणले जनायो । तर चन्द्रनिगाहपुरका स्थानीयले आफ्नो जमिन घर छेउबाट ३३ केभी लाइन लगिएको भनेर तार फेर्न दिएका छैनन् । यो लाईन २५ वर्षअघि चन्द्रनिगाहपुरबाट हरसाह लगिएको हो । त्यस बेला कसैले अवरोध गरेनन् ।
अहिले पुरानो तार हटाएर नयाँ लगाउन लाग्दा अवरोध गरेको प्राधिकरणले जनायो । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले विद्युत्को काममा अवरोध गर्न आउनेलाई पक्रेर कारबाही गर्ने बताए ।
