बारामा डेढ क्विन्टल गाँजासहित ४ जना नियन्त्रणमा

चैत्र १३, २०८१

लक्ष्मी साह

4 people arrested with one and a half quintal of marijuana

बारा — बारामा प्रहरीले डेढ क्विन्टल गाँजासहित चार जनालाई बुधबार नियन्त्रणमा लिएको छ । मकवानपुर र बाराको चुरे क्षेत्रमा उत्पादन हुने गाँजा भारततिर लैजान गोदाम गर्ने क्रममा तिनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्ने खेपमा काम गर्ने  भरिया मात्र हुन् । जितपुर सिमरा उपमहानगरपालिका–४ औराहास्थित दुधौरा खोलाको बाटोबाट प्रहरीले गाँजा बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा २२ चक्रीका ४२ वर्षीय बुद्ध घलान, वडा ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय बीरबहादुर डम्बा र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेका २७ वर्षीय सोमलाल पाख्रिन पक्राउ परेका हुन् ।

खोलै खोलाको बाटो हुँदै जितपुर सिमराको बकुलियातर्फ टाउकोमा बोकेर जाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर्दै थप अनुसन्धान भइरहेको उनले बताए । इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्दै गाँजा बरामद गरेको हो ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully