होमस्टे समितिले २ कठ्ठामा सांस्कृतिक घर निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ
सुवर्णपुर (पर्सा) — कोरोनाकालसँगै सुस्ताएको सुवर्णपुरका होमस्टे पुरानै लयमा फर्किएको छ । मधेश प्रदेशकै पहिलो होमस्टे सुनाखरी मध्यवर्ती होमस्टेमा यस वर्ष पाहुना टुटेका छैनन् । हाल मासिक १ सय २५ देखि १ सय ५० जनासम्म पाहुना आउन थालेपछि होमस्टे सञ्चालकहरू हौसिएका छन् ।
सुनाखरी मध्यवर्ती होमस्टे समितिका अध्यक्ष शम्भुराम पौडेलका अनुसार हाल होमस्टेमा आइरहेका पाहुनामा वीरगन्ज, हेटौंडा, कलैया, नारायणघाट, पोखरा, जनकपुर, काठमाडौंका बढी हुने गरेका छन् । तीमध्ये अधिकांश पर्सा तथा चितवन राष्ट्रिय निकुन्ज घुम्न आउने, वन तथा वन्यजन्तुको सबन्धमा अध्ययन अनुसन्धान गर्न आउनेहरु हुने गरेका छन् ।
माघ र फागुनमा चलचित्र ‘एलिफेन्ट इन फग’ को छायांकन युनिट करिब डेढ महिना यो होमस्टेमा बास बसेको थियो । त्यतिबेला सबै होमस्टे भरिभराउ थियो । करिब १६ लाख रुपैयाँ एउटै चलचित्र युनिटबाट होमस्टेमा भित्रिएको थियो ।
ठोरी गाउँपालिका-५ मा रहेको यो होमस्टेमा १५ घर, ३० कोठा छन् । ती कोठामा पाहुनाका लागि ६० शय्या छन् । १५ मध्ये ४ वटा होमस्टे पर्सा राष्ट्रिय निकुन्ज र ताल कार्यक्रमको सहयोगमा तथा बाँकी ११ वटा मधेश प्रदेश सरकारको सहयोगमा निर्माण भएका हुन् । करिब ८ लाख रुपैयाँको लागतमा निर्मित प्रत्येक होमस्टेका नयाँ भवनको निर्माणमा दाताहरुको ४/४ लाख र सञ्चालकहरुको ४ लाख लगानी रहेको छ ।
९ वर्षअघि १० घरबाट होमस्टे सुरु गरिएको थियो । होमस्टेमा बेलाबेलामा तेस्रो मुलुकका पाहुनाको टोली पनि आउने गरेका छन् ।
विगतमा आआफ्नो घरमा पाहुनाका लागि एकदुई कोठा छुट्याएर होमस्टे सञ्चालन गरेका स्थानीयले होमस्टेका लागि नयाँ भवन नै निर्माण गरेका छन् । अब होमस्टेमा होटेल तथा रिसोर्टझैं एट्याच शौचालयसहितको छुट्टै कोठामा बास बस्ने सुविधा रहेको अध्यक्ष पौडेल बताउँछन् । होमस्टेका अन्य संरचनामा पनि स्तरोन्नति भइरहेको उनले बताए । 'निकुञ्ज नजिक रहेको मानव बस्तीमा बेलाबेलामा वन्यजन्तु प्रवेश गरेर रातको समय आक्रमणका घटना हुने गरेका छन्,' उनले भने, 'एट्याच शौचालयको सुविधाले अब पाहुनाले ढुक्क भएर होमस्टेको आनन्द लिन पाएका छन् ।'
अर्का होमस्टे सञ्चालक भीमबहादुर पाख्रिन छिमेकी जिल्ला चितवनको माडीस्थित होमस्टे तथा नवलपरासीको अमलटारीका होमस्टेमा पनि होटेलकै जस्तो सुविधा उपलब्ध गराउँदा पाहुनाहरु सन्तुष्ट र सुरक्षित महसुस गर्ने भएकाले आफूहरुले त्यसको अनुसरण गरेको बताए । पाहुना सुरक्षित र सुविधायुक्त वातावरणमा बस्न पाएपछि उनीहरुको होमस्टे बसाइ लम्बिने र दोहोर्याएर आउने सम्भावना पनि हुने उनको भनाइ छ ।
बिदा मनाउन मात्र नभई तामाङ संस्कृति, रहनसहनलाई नजिकबाट बुझ्न, वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान एवम् शोधपत्र तयार पार्न पाहुना आउने गरेका छन् ।
पाहुनालाई टीका र माला लगाएर आत्मीय स्वागत गर्ने, पारिवारिक सदस्यझैं व्यवहार गर्ने र भावपूर्ण रुपमा बिदाइसमेत गरिन्छ ।
पाहुनालाई ४ वर्षयता तामाङ गीत, नृत्य तथा संस्कृति देखाउने गरिएको छ । तारा गाउँ विकास समिति र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत ताल कार्यक्रमको आर्थिक सहयोगमा होमस्टे समितिले २ कठ्ठामा सांस्कृतिक घर निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
होमस्टे समितिलाई मधेश प्रदेश सरकारले जंगल सफारीका लागि एउटा जिप उपलब्ध गराएको छ । हात्ती सफारीका लागि पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा दुईवटा हात्ती पनि उपलब्ध गराएको छ ।
