दर्ताबिनाका अस्पताल मुख्यमन्त्रीले बन्द गराए, पालिकाले अस्थायी अनुमतिपत्र दिएर खुलाए

चैत्र ८, २०८१

शिव पुरी

Unregistered hospitals were closed by the Chief Minister, the municipality opened them by giving temporary permits

रौतहट — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिनादर्ता र मापदण्डविपरीतका अस्पताल बन्द गराए पनि अहिले अटेर गरेर सञ्चालनमा ल्याएका छन् । मुख्यमन्त्री सिंहले फागुन १७ गते चन्द्रपुर नगरपालिकाका अस्पतालको अनुगमन क्रममा १० वटा दर्ताबिना सञ्चालनमा रहेको पाइएपछि बन्द गराएका थिए ।

मुख्यमन्त्री सिंहले अस्पताल बन्द गराएको एक सातापछि चन्द्रपुर नगरपालिकाले स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ को दफा ५३ अनुसार भन्दै ३५ दिनका लागि अस्थायी अनुमतिपत्र दिएर सञ्चालन गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले बन्द गराएका चन्द्रपुर सिटी अस्पताल, हाइवे ट्रमा सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल, अर्थोपेडिक अस्पतालहरु धमाधम सञ्चालनमा आए ।

यसको जानकारी पाएलगत्तै मुख्यमन्त्री सिंहले हुँदै नभएको दफा टेकेर नगरपालिकाले अस्थायी दर्ता पत्र दिएको भन्दै आपत्ति जनाएका छन् । रक्तसञ्चार केन्द्रको नवीकरण तथा खारेजीको दफा लगाएर चन्द्रनिगाहपुरमा बन्द गराइएका अस्पतालहरुलाई नगरपालिकाले अस्थायी अनुमतिपत्र दिएको मुख्यमन्त्री सिंहले बताए ।

‘मानिसको स्वास्थ्यसँग खेलबाड गरेर बिनादर्ता मापदण्डविपरीतका अस्पतालाई हुँदै नभएको दफा लगाएर सञ्चालन गर्न दिएको रहेछ । त्यो कदापि राम्रो होइन,' उनले भने, ‘यो सबै बन्द हुनुपर्छ । नगरपालिकाले प्रक्रिया पुर्‍याएको छ/छैन हेरेर मात्र दर्ता गराउनुपर्छ ।’

मुख्यमन्त्री कार्यालयले चैत्र ४ मा विज्ञप्ति निकालेर नियमविपरीत अस्थायी अनुमतिपत्र दिएको भन्दै आपत्ति जनाएपछि चन्द्रपुर नगरपालिकाले भोलिपल्ट अस्थायी पत्र खारेज गरेको थियो । त्यसपछि पनि अस्पताल सञ्चालन गरेको पाइएको छ ।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संयोजक राजेश ठाकुरले सिम्स र सिभिल अस्पतालले प्रक्रिया पूरा गरेको भनेर दर्ताका लागि कागजात पेस गरेको बताए । अहिले बिनादर्ताका १० वटै अस्पताल सञ्चालनमा छन् । नगरपालिकाको पत्र प्राप्त गरे तापनि उनीहरुले अटेर गरेर खोलेका छन् । सञ्चालकहरुले दर्ताका लागि नगरपालिकामा सबै कागजपत्र दिएकाले अस्पताल खोलेको बताउँदै आएका छन् ।  

अस्पतालको इमरजेन्सी, आईसीयू, फार्मेसी, चिकित्सक बस्ने कक्ष र चर्को शुल्कलगायत मापदण्ड पूरा नगरेको भन्दै मुख्यमन्त्री सिंहले चन्द्रपुर र गरुडा नगरपालिकाका २० वटा अस्पताल बन्द गराइएको थियो ।

चन्द्रनिगाहपुर र गरुडाका अधिकांश अस्पताल दर्ता नगरी सञ्चालन गरेको र आईसीयू, इमरजेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको मुख्यमन्त्री सिंहले बताए । गरुडाका अरुण सिटी हस्पिटल, अनामिका हस्पिटल, गरुडा अस्पताल, रोमा हस्पिटल, होप हस्पिटल, सनसिटी हस्पिटल, सरस्वती हस्पिटल, आनन्द हस्पिटल अनुगमनका क्रममा मापदण्डविपरीत फेला पारेपछि मुख्यमन्त्री सिंहले बन्द गराएका थिए ।

अस्पताल मापदण्डमा धुलो, धुवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त हुनुपर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्छ । सवारी पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने मापदण्ड बनाइएको छ । तर यहांका अधिकांश अस्पतालले यो मापदण्ड पूरा गरेका छैनन् ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully