बरामद गरिएको २४ क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट

चैत्र ८, २०८१

विद्यानन्द राम

More than 24 quintals of seized marijuana were burnt and destroyed

राजविराज — सप्तरी प्रहरीले बरामद गरेको २४ क्विन्टल १९.५ किलो गाँजा शुक्रबार सार्वजनिक रूपमा जलाएर नष्ट गरेको छ। राजविराज नगरपालिका-१५ देउरीभरुवास्थित खाँडो खोलामा सरोकारवालाको रोहबरमा जिल्ला प्रहरी कार्यालयले उक्त गाँजा नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उक्त गाँजा गत फागुन १९ गते राजविराज नगरपालिका–९ मलेठबाट बरामद गरिएको थियो। गाँजा बरामद गरिएको घटनामा थप अनुसन्धान भइरहेको बताउँदै उनले नियन्त्रणमा लिइएका व्यक्तिले दिएको बयानका आधारमा पनि अनुसन्धान अघि बढाइएको जानकारी दिए।

यसअघि पनि सप्तरी प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ। माघ २६ गते बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट ७ क्विन्टल २६ किलो गाँजा बरामद गरिएको थियो। पुस २७ गते बलान बिहुल गाउँपालिका–१ कमलदाहबाट ६ क्विन्टल ७० किलो गाँजा बरामद गरिएको थियो भने मंसिर ४ गते राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट १७ क्विन्टल १७ किलो गाँजा बरामद गरिएको थियो।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully