सिरहामा दलित परिवारमाथि विभेद गर्नेलाई कारबाहीको माग

मधेश प्रदेशसभाका सांसदहरुले आपत्ति, महायज्ञका नाममा दलितको घर भत्काउनेलाई कारबाहीको माग

चैत्र ७, २०८१

अजित तिवारी

Demand action against those who discriminated against Dalit families in Siraha

जनकपुर — सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएकामा मधेश प्रदेशसभाका सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । 

मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकामा प्रदेश सांसदहरुले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।

शून्य समयमा बोल्दै प्रदेश सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘यज्ञका नाममा दलित परिवारमाथि अन्याय भएको छ,’ रजकले भनिन्, ‘उठीबास गराउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्छु ।’ 

एमालेका सांसद लखन दास तत्माले मधेश प्रदेशमा दलितमाथि नै पटकपटक ज्यादती हुँदा पनि सरकार मौन बसेको आरोप लगाए । ‘३० वर्षदेखि परिवारसहित बसोबास गरिरहेका मलिक परिवारलाई उठीबास गराउनु अमानवीय काम भएको छ,’ सांसद तत्माले भने, ‘छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाही हुनुपर्छ ।’ 

माओवादी सांसद मालाकुमारी कर्णले औरही गाउँपालिकाका अध्यक्षलगात केही व्यक्तिले महायज्ञका नाममा मलिक परिवारको उठीबास लगाउनु अमानवीय भन्दै दु:ख व्यक्त गरिन् । ‘सधैं दलितमाथि अत्याचार हुँदै आएको छ,’ उनले भनिन्, ‘मलिक परिवारको घरबासको तुरुन्त बन्दोबस्त गर्नुपर्छ । दोषीमाथि कारबाही हुनुपर्छ ।’ 

जसपाकी सांसद ललिता दासले रिंकु सदाको घटना सेलाउन नपाउँदै सिरहामै दलितको घर उजाड पारिएकामा आपत्ति जनाइन् । ‘मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्छु,’ उनले भनिन, ‘छानबिन गरी कडा कानुनी उपचार हुनुपर्छ । क्रमबद्ध भइरहेको घटना रोक्न प्रदेश सरकारले कदम चाल्नुपर्छ।’

महायज्ञको मण्डप नजिक दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै आयोजक बजरंगी बाबाले मलिकको घर भत्काउन आदेश दिएका थिए । गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काइएको थियो ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully