मधेशका मुख्यमन्त्री र भारत उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

चैत्र ७, २०८१

सन्तोष सिंह

A meeting between the Chief Minister of Madhesh and the Chief Minister of Uttar Pradesh, India

महोत्तरी — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।

भारत पुगेर बिहीबार योगीसँग भेटघाट गरेको तस्बिर सार्वजनिक गर्दै सिंहले भेटवार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाको विषयमा छलफल भएको पनि उनको दाबी छ ।

'रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग विषयमा केन्द्रित भेटघाट सकारात्मक रह्यो,' उनले भने ।

मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे मधेश प्रदेशका मन्त्रीहरू भने अनभिज्ञ छन् । मन्त्रिपरिषदमा मुख्यमन्त्री सिंहले उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट गर्ने वा भ्रमणबारे कुनै जानकारी नगराएको मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully