सप्तरी — छिन्नमस्ता गाउँपालिका–४ लालापट्टिका ८ घरमा मंगलबारको राति चुल्हो बलेन । बलोस् पनि कसरी मंगलबार बिहानै यहाँका आठै घर आगलागीमा परेर ध्वस्त भए । अन्नपात र लुगाफाटो मात्रै जलेनन्, पकाउने भाँडाकुडा पनि जलेपछि साँझ उनीहरूले भुजा खाएर पेट भरे । आगलागीपीडित देवनारायण पण्डितले भने, ‘राहतमा चामल त मिलेको थियो । तर भाँडाकुडा नभएकाले पकाएर खान सकेनौं ।’
मंगलबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा यहाँका आठै घर जलेका थिए । मंगलबार बिहान घर जलेको खबर सुन्दा ७० वर्षीय जुगेश्वर पण्डित (कुम्हाल) ६५ वर्षीया पत्नी पलासदेवीसँग सिराहको लहानमा थिए । पत्नीको उपचारका निम्ति त्यहाँ पुगेका उनी आगलागीको खबर सुनेपछि हतारिएर गाउँ फर्किए । उनले सुनाए, ‘म आइपुग्दा त भएभरको सबै सम्पत्ति जलिसकेको थियो ।’ जुगेश्वरले उपचारका लागि कर्जामा लिएर घरमा राखेको १५ हजार रुपैँयासहित लत्ताकपडा, भाडाकुडा र खाट सबै जलेको सुनाए ।
मंगलबार साँझ गाउँपालिकाले पीडितहरूलाई ओत लाग्न त्रिपाल उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘त्रिपाल, चालम, दाल, नुन, तेल सबै उपलब्ध गराएका छौं ।’ आगलागीपीडितले भने खाद्यान्न भए पनि पकाउने भाडा नभएपछि भुजा खाएर नै रात कटाए । जुगेश्वरले भने, ‘अब कसरी छाक टार्ने र कसरी ओत लाग्ने भन्ने समस्या थपिएको छ ।’
जिल्ला प्रहरी कार्यलयका अनुसार आगलागीमा दुई वटा खसी र एउटा भैंसी जलेर मरेको छ भने लत्ताकपडा, अन्नपात, फर्निचर, भाँडा, मोबाइल, सुन र चाँदी समेत जलेर साढे १८ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
