कमला-कञ्चनपुर चारलेन राजमार्ग : कामको गति बढ्यो, सामग्री अभाव

अहिले मौज्दात रहेको  सामग्रीले १५ दिन मात्रै धान्ने, विद्युत्‌का पोल हटाउन ढिलासुस्ती, काम प्रभावित हुने चिन्ता

चैत्र ६, २०८१

विनय आजाद

Kamala-Kanchanpur Charlane Highway: Speed ​​of work increased, shortage of materials

सिरहा — सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म निर्माणाधीन चार लेन राजमार्गको कामले गति लिएको छ । सरकारले पुनः एक वर्ष म्याद थपिदिएपछि निर्माण कम्पनीले पश्चिम खण्डमा चैत २ गतेदेखि कामको गति बढाएको हो ।

यो राजमार्ग निर्माणका लागि चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले २०७७ कात्तिक १३ मै १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का पाएको थियो । पश्चिम र पूर्व गरी दुई खण्डमा बाँडेर राजमार्ग निर्माणको काम चलिरहेको छ । जसअनुसार पश्चिम खण्डमा सिरहाको कमलादेखि सप्तरीको कुसहासम्म ४७.४० किलोमिटर पर्छ भने पूर्व खण्डमा कुसहादेखि कञ्चनपुरसम्म ३९.४२ किलोमिटर पर्छ । सरकारसँग भएको सम्झौताअनुसार कुल ८६.८२ किलोमिटरको यो राजमार्ग २०८० कात्तिक ११ भित्रै निर्माण भइसक्नुपर्ने थियो ।

तोकिएको मितिमा काम सम्पन्न नभएपछि सरकारले पहिलोपल्ट २०८१ पुस १० सम्मका लागि म्याद थपिदिएको थियो । तर, ठेकेदारको कम्पनीको सुस्तताका कारण अहिलेसम्म पश्चिम खण्डमा ५५.७६ र पूर्व खण्डमा ५१.७४ प्रतिशत काम मात्रै भएको छ ।

निर्माण कम्पनीले थप दक्ष जनशक्ति मगाएर काम गर्ने प्रतिवद्धता गरेपछि सरकारले दोश्रोपल्ट पुनः २०८२ पुस १६ गते सम्मको म्याद थपिदिएको छ । म्याद थपिएपछि चैत २ गतेदेखि पश्चिम खण्डमा निर्माण कम्पनीले नयाा ढंगले काम सुरु गरेको मिर्चैयास्थित कञ्चनपुर कमला सडक योजना, पश्चिम खण्डले जनाएको छ । ‘काम कहिल्यै पनि रोकिएन, तर विभिन्न कारणले बीच-बीचमा कामको गति चाहिा कम भयो,’ कञ्चनपुर कमला सडक योजना, पश्चिम खण्डका प्रमुख उज्जवल श्रेष्ठले कान्तिपुरसित भने, ‘अब ठेकेदारले नयाा टिमसहित नयाा ढंगले काम सुरु गरेको छ ।’ श्रेष्ठका अनुसार, पश्चिम खण्डमा अहिलेसम्म २३.०३ किलोमिटर राजमार्ग कालोपत्रे भएको छ । यसैगरी, यस खण्डमा २५ वटा पूलमध्ये १८ वटाको काम सम्पन्न भइसकेको छ भने ७ वटा निर्माणाधीन छन् ।

Kamala-Kanchanpur Charlane Highway: Speed ​​of work increased, shortage of materialsयस्तै, मिर्चैयामा निर्माण हुने ओभरपासको काम पनि एक साताभित्रै सुरु गर्ने गरी तयारी निर्माण कम्पनीले गरिरहेको श्रेष्ठको भनाइ छ । तर, लहानमा ओभरपासको काम सुरु गर्न गोलचक्करमा रहेको सहिद स्तम्भ नहटेका कारण कठिनाइ भइरहेको उनले बताए ।

यसैगरी, मिर्चैयामा रहेका विद्युतका पोलहरु हटाइए पनि बन्दिपुर, गोलबजार र लहानका पोल अझै नहटेको र यसले कामलाई प्रभावित पार्दै आएको श्रेष्ठको गुनासो छ । ‘हामीले पटकपटक ताकेता गर्दा पनि पोल अझै हटाइएको छैन,’ उनले भने, ‘पोल पनि मुख्य अवरोधक हो ।’

नदीजन्य सामग्री अभावले काम अवरुद्ध हुने चिन्ता

यस खण्डमा अब बाँकी रहेका काम सम्पन्न गर्न ४ लाख घनमिटर नदीजन्य सामग्री आवश्यक पर्छ । तर, निर्माण कम्पनीसाग अहिले २० हजार घनमिटर नदीजन्य सामग्री मात्रै मौज्दात छ । यतिले १५ दिन जति मात्रै धान्ने श्रेष्ठले बताए । उनका अनुसार, नदीजन्य सामग्री सर्रे खोला र खुट्टी खोलाबाट झिक्नका लागि धनगढीमाई नगरपालिका र लहान नगरपालिकामा निवेदन दिइएको छ । तर, अहिलेसम्म सम्झौता हुनसकेको छैन । ‘अहिलेकै गतिमा काम हुने हो भने थपिएको समयभित्रै काम सम्पन्न हुन्छ,’ श्रेष्ठले भने, ‘तर, नदीजन्य सामग्री अभाव चाहिा हुनुभएन, यसका लागि सबै गम्भीर बन्नुपर्छ, यो राष्ट्रिय गौरवको आयोजना हो, यसमा सहयोग गर्नु सबैको दायित्व हो ।’

पूर्व खण्डमा आगामी १२ गतेदेखि कामको गति बढ्ने

कमला कञ्चनपुर राजमार्गको पूर्व खण्डमा भने आगामी चैत १२ गतेदेखि कामको गति बढ्ने भएको छ । अहिले पनि काम जारी नै रहेको भएपनि एक सातापछि तीव्र गतिमा काम अगाडि बढ्ने कञ्चनपुर कमला सडक योजना, पूर्व खण्डका प्रमुख निरज शाक्यले बताए ।

यो खण्डमा अहिलेसम्म ५१.७४ प्रतिशत काम भएको र बाँकी काम थपिएको सीमाभित्रै सकाउने गरी आफूहरू अघि बढेको उनको भनाइ छ । तर, पूर्व खण्डमा पनि पश्चिम खण्डको जस्तै पोल र नदीजन्य सामग्री चिन्ताको विषय बनेको शाक्यको भनाइ छ ।

‘ठेकेदार अब तातिएर काम गर्ने मूडमा छन्, तर हामीले उनीहरुलाई त्यसका लागि वातावरण बनाइदिनुपर्यो,’ शाक्य भन्छन्, ‘हामीले यहााका सबै निकायसाग समन्वय गरिरहेका छौं, सबैको सहयोग भयो भने काम समयमै सम्पन्न हुन्छ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully