बारामा सातमध्ये एक मात्र क्याम्पसमा स्ववियु चुनाव

चैत्र ५, २०८१

लक्ष्मी साह

Only one out of seven campuses in Barama, SWIU elections

बारा — जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त सात वटा सामुदायिक क्याम्पसमध्ये एउटा क्याम्पसमा मात्र मंगलबार स्ववियु चुनाव भइरहेको छ । निजगढ नगरपालिकाको एक मात्र गौरीशंकर क्याम्पसमा चुनाव हुँदैछ ।

बाँकी छ वटा क्याम्पसमा स्ववियु गठन नै नभएकाले गौरीशंकरमा चुनाव हुन लागेको हो । स्ववियु गठन भएको एक मात्र गौरीशंकर क्याम्पसमा ३ सय ७० विद्यार्थी रहेकोमा त्यसमा ८० प्रतिशत छात्रा छन् ।

एमाले निकट अनेरास्ववियु कांग्रेस निकट नेविसंघ र माओवादी निकटका अखिल क्रान्तिकारी संगठनले उम्मेदवारी दर्ता गराई चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 

जिल्लाको सदरमुकाम कलैया उपमहानगरमा एउटा मात्र रामराजा मोहनविक्रम शाह क्याम्पस छ भने जितपुर सिमरा उपमहानगरपालिकामा ३ वटा क्याम्पसमा सिमरा क्याम्पस, बकुलिया क्याम्पस र डुमरवाना सामुदायिक क्याम्पस छन् । यसैगरी, महागढीमाई नगरपालिकामा एक मात्र गढीमाई क्याम्पस छ भने कोल्हवी नगरपालिकामा समेत एक मात्र क्याम्पस छ । 

क्याम्पसलाई विद्यार्थी राजनीतिलाई टाढा राख्ने र विद्यार्थी संख्या समेत कम भएकाले जिल्लाको अरु छ वटा क्याम्पसमा स्ववियु गठन (दर्ता) नभएको कलैया रामराजा मोहनवित्रम शाह क्याम्पसका सहायक क्याम्पस प्रमुख निवेश तिम्लसेनाले बताए । ‘स्ववियुलाई कोठा दिनुपर्नेदेखि अन्य खर्च व्यवस्थापनसमेत गर्न खर्चिलो हुने र क्याम्पसमा आयस्रोत कम हुने भएकाले स्ववियु गठन छैन,’ उनले भने, ‘अधिकांश क्याम्पसमा पढाउने कक्षाकोठाकै अभाव छ ।’ 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully