धनुषा — होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धि चोकमा भएको विवादमा छुरी प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँसु यादव रहेका छन् । प्रहरीका अनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ ।
धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँसुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए ।
