पर्सा — सशस्त्र प्रहरी बल पर्साले ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ बराबरका हीरा तथा सुनका गरगहना बरामद गरी भन्सार दाखिला गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेका सवारी साधन चेकजाँच गर्ने क्रममा सुन तथा हीराका गरगहना शनिबार बरामद गरेको हो ।
सुनचाँदी व्यवसायी संघ पर्सामा पठाइ परीक्षण गराउँदा उक्त वस्तु सुन तथा हीराका भएको प्रमाणित भएपछि ती बस्तुको बजार मूल्य अनुसार हीराको मूल्य ३६ लाख १५ हजार ८७ रुपैयाँ र सुनको बजार मूल्य २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ गरी जम्मा ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँमा वीरगन्ज भन्सार कार्यालय पर्सामा सोमबार बुझाइएको हो ।
बरामद गहनामा बाला–१० थान, ब्रासलेट एक थान, फेन्सी ब्रासलेट नौ थान, औंठी चार थान, मंगलसूत्र चार थान, विभिन्न किसिमका गहना ११ थान, लकेट चार थान, झुम्का १३ थान र टप ६ जोर रहेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी नरेन्द्रसिंह धामीले जानकारी दिएका छन् ।
गहना कोबाट र कति नम्बरको सवारी साधनबाट बरामद भएको हो भनी प्रहरीले खुलाएको छैन ।
