कृषिकर्ममा यान्त्रीकरणमा जोड

फाल्गुन २६, २०८१

शंकर आचार्य

Emphasis on mechanization in agriculture

पर्सा — कृषि क्षेत्रका सरोकारवालाहरूले मुलुकमा कृषिकर्ममा यान्त्रीकरणको अपरिहार्यतामा जोड दिएका छन् । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले सोमबार आयोजना गरेको हिउँदे बाली प्रविधिको एक दिवसीय अवलोकन तथा मूल्यांकन भ्रमणका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।

बाराको फेटा गाउँपालिका–१ त्रिवेणीका किसानले पोट्याटो प्लान्टरबाट लगाएको आलु बाली सोमबार पोट्याटो ड्रिगर मेसिनबाट भित्र्याउने प्रविधिको स्थलगत प्रदर्शन गरेका थिए । 

त्यस क्रममा अगुवा किसान पारस ठाकुरले आफूले ३ वर्षदेखि यो प्रविधिबाट आलु रोप्ने र खन्ने कामसमेत गरिरहेको बताए । यस क्रममा आफूले पोट्याटो प्लान्टर मेसिन गाउँपालिकाको कार्यालयको अर्धअनुदानमा खरिदसमेत गरिसकेको उनले जानकारी दिए । उक्त मेसिनबाट यस वर्ष आलु रोप्ने सिजनमा आफूले पर्सा र बाराका विभिन्न स्थानमा आलु रोपेरै १५ दिनमा २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको पनि उनले बताए । 

पर्साको पर्सागढी नगरपालिका–३ का किसान युवराज थापाले आफूसहित आफ्ना छिमेकी किसानले ३ वर्षयता शून्य जोताइ प्रविधिबाट गहुँ बाली रोप्दै आएको बताए । उनले यो प्रविधिले गहुँ खेती गर्दा लागत पनि कम र उत्पादन पनि डेढ गुना बढी भएकाले आफूहरूलाई यान्त्रीकरणले धेरै लाभ भएको सुनाए । 

पर्सा जगरनाथपुर गाउँपालिका–३ का अगुवा किसान अभय यादवले आफूले ३ वर्षयता सर्फेस मल्चर सिडर प्रविधिबाट गहुँ खेती गरिरहेको बताए । यो प्रविधिबाट खेतीको लागत कम र उत्पादनसमेत बढी भएकाले गाउँका अन्य किसानले पनि यो प्रविधिको सिको गरिरहेको उनले बताए । 

कृषि अनुसन्धान निर्देशनालय मधेश प्रादेशिक कार्यालय परवानीपुरका प्रमुख डा बीपी यादवले भविष्यमा कृषि मजदुरको थप अभाव हुँदै जाने भएकाले कृषिमा यान्त्रीकरणको विकल्प नरहेको बताए । 

कृषि यान्त्रीकरण प्रविधि केन्द्र नक्टाझिजका प्रमुख इन्जिनियर सरोज अधिकारीले यान्त्रीकरणमा जोड दिँदै आफूहरू नयाँनयाँ प्रविधिको विकासमा लागिपरेको बताए । उनले किसानलँई यसमा अभ्यस्त बनाउन आवश्यक भइसकेको पनि दाबी गरे । 

कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जका प्रमुख इन्जिनियर सचिनकुमार मिश्राले पछिल्ला केही वर्षयता केन्द्रले नयाँ नयाँ प्रविधिको विकास र स्तरोन्नति गरी किसानसमक्ष पुर्‍याउने कुरामा जोड दिएको बताए । ‘आउँदा दिनमा जलवायु परिवर्तन र कृषि मजदुरको अभावको समस्या झनै विकराल रूपमा देखा पर्ने छ,’ उनले भने, ‘यस्तो अवस्थामा कृषिमा यान्त्रीकरणको विकल्प छैन ।’

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully