पर्सा — तोरी खेतीको हबको रुपमा स्थापित ठोरी गाउँपालिकामा होमस्टे सन्चालक समितिले तोरी तेल मिल सन्चालन गरेको छ । ठोरी–५ सुवर्णपुरस्थित सुनाखरी मध्यवर्ती होमस्टे सन्चालक समितिले तोरी तेल उत्पादन गर्ने मिल सन्चालनमा ल्याएको हो ।
समितिका अध्यक्ष शम्भुराम पौडेलका अनुसार, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ताल कार्यक्रमको लगानीमा मिल स्थापना गरिएको हो ।
‘ताल कार्यक्रमले ५ लाख ३० हजार रुपैयाँ लगानी गरेर मिल स्थापना गरिदिएको हो,’ उनले भने, ‘तोरी खरिद गर्न ८० हजार रुपैयाँ पुँजी समेत ताल कार्यक्रमले नै उपलब्ध गराएको छ ।’ तेलको परीक्षण उत्पादन समेत सुरु गरिसकिएको उनले बताए ।
होमस्टेमा बास बस्न आउने पाहुनालाई बिदा गर्दा स:शुल्क शुद्ध तोरीको तेल दिएर बिदा गर्ने योजना रहेको उनले बताए । ‘अचेल आम उपभोक्तामा अन्य तेल भन्दा तोरीको तेलनै स्वास्थ्यका लागि हितकर छ भन्ने मान्यता पुर्नस्थापित भएको छ,’ उनले भने, ‘शुद्ध तोरीको तेल पाए जो कोहीले पनि सजिलै खरिद गर्छन्, हामीलाई बजारको समस्या हुने छैन ।’ तेलको परीक्षण उत्पादन सुरु गरिएको तर तेलको मूल्य भने हाल निर्धारण गरी नसकिएको उनले बताए ।
मिलमा दैनिक ३ क्विन्टल तोरी प्रशोधन गरेर १ सय लिटर सम्म तेल उत्पादन गर्न सकिने पौडेलले बताए । ठोरी गाउँपालिकाको कुल क्षेत्रफल एक सय २८ वर्ग किलोमिटर छ । जसमध्ये २७ दशमलव ७२ वर्ग किलोमिटर (१० हजार नौ सय ६० बिघा) जमिन खेतीयोग्य छ । खेतीयोग्य जमिनमध्ये यो वर्ष एक हजार ८ सय ४२ बिघामा तोरी खेती लगाइएको तथ्यांक ठोरी गाउँपालिकासंग छ । करिब १७ प्रतिशत क्षेत्रफलमा यो वर्ष तोरी खेती भएको थियो ।
ठोरीको तोरीखेतीले केही बर्ष यता आन्तरिक पर्यटक समेत आकर्षित गरिरहेको छ । बर्सेनि मंसिर/पुस महिनामा तोरी फुलेर पहेलपुर भएपछि आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । हुलाकी सडकको पहुँच पुगेसंगै ठोरी गाउँपालिकामा उत्पादित तोरी सिजनको सुरुवातमै बिक्री हुने गरेको छ ।
‘४/५ वर्ष यता सिजनको सुरुवातमै ट्रक लिएर व्यापारीहरू खेतमै पुग्छन् । चितवन र वीरगन्जदेखि व्यापारीहरू तोरी किन्न सिजनको सुरुवातमै खेतमै पुगेर हानाथाप गर्छन् । कतिपय किसानको तोरी बाली भित्र्याइ नसक्दै बुक समेत भई सक्छ । किसान आफूले मागेको मूल्य नगदै पाउँछन् ।
गाउँपालिकाका सबै वडामा तोरी खेती हुने गरेकोमा बिशेष गरी वडा नं ३, ४ र ५ मा भने बढी तोरी खेती हुने गरेको छ । २०२० साल तिर चितवन राष्ट्रिय निकुन्ज स्थापना हुँदा निकुन्जको घना जंगलबीच रहेका मानव बस्तीहरू हिले, तिनकानी, गडुवाका बासिन्दालाई स्थानान्तरण गरी सुवर्णपुरमा बसोबासको व्यवस्था मिलाएसंगै यस भेगमा तोरी खेती पनि भित्रिएको थियो ।
एक पटक छरेपछि गोडमेल र सिंचाई पनि गर्नु नपर्ने भएकाले किसानलाई तोरी खेती सहज र दरिलो नगदे बाली साबित हुँदै आएको छ । यस भेगमै सिंचाईको सुविधा नभएको र वन्यजन्तुले पनि तोरी बालीलाई नोक्सान नगर्ने भएकाले अधिकांश किसानले तोरी बाली खेती गर्ने गरेका छन् ।
