सिरहा — सिरहामा आर्थिक चलखेल गरी एसईईको परीक्षा केन्द्र निर्धारण गरिएको घटनाका विषयमा राष्ट्रिय परीक्षा बोर्डले जिल्लाका निकायसँग जानकारी लिएको छ । कान्तिपुरको समाचारपछि बोर्डले आइतबार जिल्लाका निकायका प्रमुखसँग जानकारी लिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र शिक्षा विकास तथा समन्वय इकाई, सिरहाका प्रमुख दीपकराज कलौनीलाई आफैंले फोन गरेर यस विषयमा जानकारी लिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।
समाचारमा आएका विषयवस्तुमाथि बोर्डको गम्भीर ध्यानाकर्षण भएको र यसको सूक्ष्म छानबिन हुने शर्माको भनाइ छ । 'तपाईंको समाचारमा आएका विषयवस्तुमाथि हामी गम्भीर छौं,' शर्माले कान्तिपुरसित भने, 'यसको सूक्ष्म छानबिन हुन्छ ।'
शिक्षा विकास तथा समन्वय इकाई, सिरहाले गत बिहीबार जिल्लाका ९५ सामुदायिक र ९३ निजी गरी १८८ विद्यालयका १० हजार ७०३ विद्यार्थी सहभागी हुने एसईई परीक्षाका लागि ४९ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो ।
परीक्षा केन्द्र निर्धारण जिल्ला परीक्षा समन्वय समितिले गर्छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने यस समितिमा शिक्षा इकाइ प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख गरी पाँच जना हुन्छन् ।
तर, आर्थिक लेनदेन गरी भनिएकै ठाउँमा परीक्षा केन्द्र पारिएको पुष्टि हुने शिक्षा विकास तथा समन्वय इकाई, सिरहाका परीक्षा शाखा प्रमुख विशाल साह कानु र एक निजी विद्यालयका सञ्चालकबीच भएको फोन वार्ताको गोप्य रेकर्डसहित कान्तिपुरले समाचार सार्वजनिक गरेको थियो ।
सम्बन्धित समाचार
