सिरहा — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रमा मधेशको गर्विलो इतिहास रहेको बताएका छन् । सिरहाको माडरमा शनिबार ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कुनै बेला मधेशका जिल्ला शिक्षाको केन्द्र हुने गरेको पनि उनले बताए । 'मधेश कुनै बेला शिक्षाको केन्द्र हुन्थ्यो, यहाँका जिल्लामा संस्कृत, गणित, विज्ञान, हिन्दीलगायतका विषयका दक्ष शिक्षक हुन्थे,' उनले भने, 'तर, यो गर्विलो विगतलाई हामीले संरक्षण पनि गर्न नसक्नु निकै दुःखद हो ।'
मुलुकमा पटक-पटक सरकार फेरिए पनि कसैले स्तरीय शिक्षाबारे नसोच्दा समाज अगाडि बढ्न नसकेको पनि उनले बताए । मुलुकमा पटक-पटक क्रान्ति भएर व्यवस्था परिवर्तन भए पनि शैक्षिक क्रान्ति हुन नसक्नुको दोष राजनीतिक नेतृत्वले लिनुपर्ने उनले सुनाए । 'शिक्षा भनेको सामाजिक क्रान्तिको मूल आधार हो,' उनले भने, 'तर, हामी यसमा गम्भीर हुन नसक्दा समाज अगाडि बढ्न सकेन, यसको दोष हामीले नै लिनैपर्छ ।'
लोकतान्त्रिक व्यवस्थालाई सुदृढ पार्दै समाजलाई अगाडि बढाउन शिक्षा र स्वास्थ्यलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने यादवले बताए । यस्तै, मधेशमा चुरे विनाश नरोकिएको भन्दै उनले चिन्ता पनि व्यक्त गरे ।
