सिरहा — सिरहामा आर्थिक लेनदेनमा एसईईको परीक्षा केन्द्र निर्धारण गर्न खोजेको आरोप त्यहाँका शिक्षा विकास तथा समन्वय इकाइका परीक्षा शाखा प्रमुख विशाल साह कानुमाथि लागेको छ ।
आगामी चैत ७ गतेबाट सुरु हुन लागेको एसईईका लागि जिल्लामा आर्थिक प्रभावमा पारेर रोजेको स्थानमा केन्द्र पार्न एक निजी विद्यालयका प्रधानाध्यापकले परीक्षा शाखा प्रमुख कानुसँग गरेको कुराकानीको अडियो रेकर्ड सार्वजनिक भएपछि यो आरोप लागेको हो ।
आर्थिक लेनदेन गरी भनिएकै ठाउँमा परीक्षा केन्द्र पारिएको पुष्टि हुने अडियो रेकर्ड नै कान्तिपुरले फेला पारेको छ । अडियो रेकर्ड एक निजी विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय इकाइ, सिरहाका परीक्षा शाखा प्रमुख कानुबीचको फोन वार्ताको हो ।
जसमा ती प्रधानाध्यापकले आफूले भनेको ठाउँमा केन्द्र मिलाइदिन कानुलाई आग्रह गर्छन् । तर, उनलाई सुरुमा चिन्न नसकेका कानुले कार्यालयमै आएर कुरा गर्न भन्छन् । त्यसपछि ती प्रधानाध्यापकले विद्यालयको नाम भनेपछि उनले उक्त विद्यालयका लेखासँग कुरा भइसकेको जवाफ दिन्छन् ।
कानुले ती प्रधानाध्यापकलाई भन्छन्, ‘तपाईंको लेखासँग कुरा भइसकेको छ, ढुक्क भएर बस्नूस्, तपार्इंले भनेकै ठाउँमा सेन्टर हामी पारिदिन्छौं ।’ त्यसपछि ती प्रधानाध्यापकले तिर्नुपर्ने रकम खुलाइदिन भन्दा कानुले भनेका छन्, ‘फोनमा सबै कुरा कहाँ गर्न मिल्छ, अफिसमा आउनूस्, यतै कुरा गरौं ।’
यसैगरी, पैसा तिरेर पनि भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि कान्तिपुरको सम्पर्कमा आएका अर्का एक निजी विद्यालयका प्रधानाध्यापकले आफूले कानुलाई ४० हजार रुपैयाँ बुझाएको दाबी गरेका छन् । तर, आफूमाथि यो कुरा सार्वजनिक गरिदिन सक्ने शंका गरेर भनेको ठाउँमा परीक्षा केन्द्र नपारिदिएको उनको भनाइ छ ।
‘कानु सरले भनेको ठाउँमा सेन्टर पारिदिन्छु भनेर पैसा लिनुभयो, तर मैले यो कुरा लिक गरिदिन्छु भन्ने लागेर उहाँहरूले पारिदिनुभएन,’ ती प्रधानाध्यापकले भने, ‘अहिले पैसा फिर्ता माग्दा सम्पर्कमा आइरहनुभएको छैन, पहिला परीक्षा सकोस्, पैसा दिएन भने पत्रकार सम्मेलन गर्छु ।’
यसपालिको परीक्षा केन्द्र निर्धारणमा सिरहामा व्यापक चलखेल भएको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक बताउँछन् । शिक्षा इकाइका कर्मचारीलाई पैसा बुझाउँदा भनेको ठाउँमा पारिदिएको र पैसा नदिनेलाई निकै टाढा पर्ने केन्द्र तोकिदिएको उनको भनाइ छ ।
‘यसको उदाहरण मेरै विद्यालय पनि हो, हामीले पैसा नदिँदा १०/१२ किलोमिटर टाढा केन्द्र पारिएको छ,’ विद्यार्थीलाई असर पर्ने भन्दै नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘सरकारी विद्यालयमा गरिब विपन्नका बच्चा पढ्छन्, पैसा उठाउन र दिन सम्भव भएन ।’
स्रोतका अनुसार यसरी विद्यार्थी संख्याका आधारमा विद्यालयहरूसँग २५ हजारदेखि तीन लाखसम्म उठाइएको छ । अर्कोतिर परीक्षाका नाममा विद्यालयले पनि विद्यार्थीसँग पाँच सयदेखि एक हजारसम्मका दरले असुली गरेको पाइएको छ ।
‘हामीले सात सय रुपैयाँ तिरेका छौं, अन्य विद्यालयका हाम्रा साथीले कोही पाँच सय, सात सय, एक हजार पनि तिरेका छन्,’ एसईईमा सहभागी भइरहेका एक विद्यार्थीले भने, ‘हामीलाई यो कुरा कतै नभन्न भनिएको छ, तर यो गलत हो नि !’
परीक्षा शाखा प्रमुख कानुले यस विषयमा प्रतिक्रिया दिन अस्विकार गरे । शुक्रबार आफ्नै कार्यकक्षमा रहेका कानुले आफूलाई उक्त प्रकरणका विषयमा केही पनि नसोध्न आग्रह गरेका थिए ।
परीक्षा केन्द्र निर्धारण जिल्ला परीक्षा समन्वय समितिले गर्छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने यस समितिमा शिक्षा इकाइ प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख गरी पाँच जना हुन्छन् । तर, परीक्षा केन्द्र निर्धारणमा लेनदेन भएको विषय आफ्नो जानकारीमा नरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । सबै विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको दाबी उनको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ, सिरहाका प्रमुख दीपकराज कलौनीले भने लेनदेनको सुरा सत्य नभएको दाबी गरेका छन् । ‘यसमा लेनदेनको कुरा गलत हो,’ उनले भने, ‘यदि त्यस्तो कुरा कसैबाट भएको रहेछ भने प्रमाण आए कारबाही हुन्छ ।’
यसपालिको एसईईमा सिरहामा ९५ सामुदायिक र ९३ निजी गरी १ सय ८८ विद्यालयका १० हजार ७ सय तीन विद्यार्थी सहभागी हुँदैछन् । यसका लागि ४९ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्लामा गत वर्ष भने ४३ वटा परीक्षा केन्द्र थिए ।
