रौतहट — रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहविरुद्ध अपमानजनक र गलत अभिव्यक्ति दिएको भन्दै शनिबार सदरमुकाम गौरमा संघीय सांसद् अमरेशकुमार सिंहको पुत्ला दहन गरिएको छ ।
सांसद सिंहले शुक्रबार सदनमा मेयर साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै नगरप्रमुख साहका समर्थक र नगरपालिकाका पदाधिकारीहरुले नाराबाजी गर्दै बीपी चोकमा पुतला दहन गरेका हुन् । प्रदर्शनकारीहरुले ब्यानर, प्लेकार्ड बोकेर पुत्ला दहन गर्दै सिंहले अविलम्ब माफी नमागे उनीविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका छन् । ‘म र गौर नगरपालिकाविरुद्ध सदनमा बोलेका कुराहरु प्रमाणित भए म राजनीतिबाट संन्यास लिन्छु,' नगरप्रमुख साहले भने,‘माननीय भएर आफ्नो गरिमा राख्नु पर्नेमा जथाभावी बोलेर अपमान गर्ने काम भयो । म चुनौती दिन्छु माननीय सिंहले लगाएको आरोप प्रमाणित गरेर देखाइयोस् । हैन भने उनले राजनीतिबाट संन्यास लिएर राची भर्ना भए हुन्छ ।’
सासद सिंहले सदनमा नगरप्रमुख साहलाई गौर राईसका बारेमा तस्कर भनेर आरोप लगाएका थिए । नगरका उपप्रमुख, वडाध्यक्षहरु, वडा सदस्य र स्थानीयले सांसद सिंहलाई अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग्नु पर्ने माग गरेका छन् ।
सासद सिंहले फेसबुक स्टाटस लेखेर आफ्नो एउटा होइन हजारौं पुतला दहन गरे पनि फरक नपर्ने प्रतिक्रिया जनाएका छन् ।
