महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने दाहालको प्रतिबद्धता 

फाल्गुन २२, २०८१

सुनिता बराल

Dahal's commitment to assist in the construction of Bhitthamod Dry Port in Mahottari

महोत्तरी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग बताएका छन् ।

भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माण स्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै दाहालले आफू प्रधानमन्त्री भएका बेला बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिँदै अब काम अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

केही काम उति बेलानै अघि बढेको भए पनि बाँकी प्रक्रियाका लागि सहयोग गर्ने दाहालको भनाइ छ । आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र सम्भावित विकास निर्माणका काम अघि बढाउन पहल गर्ने भएकाले यो सवाल पनि अभियानकै एजेन्डा बन्ने अध्यक्ष दाहालले स्पष्ट गरे ।

ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष शिवचन्द्र चौधरीले कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात–निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २ सय २५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै यो बन्दरगाह मधेसका सबै जिल्लाको पायक स्थानमा पर्ने भएकाले निर्माण हुन जरुरी रहेको बताए । 

साथै उनले मणिपाल कलेजका लागि ३५ बिघा जग्गा स्थानीयबाट सस्तोमा लिएर अलपत्र छाडेकाले तत्काल काम सुरु आवश्यक समन्वयन गरिदिन पनि आग्रह गरे । 

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully