पर्सा — सप्तरीको सप्तकोशी नगरपालिकाको मानव बस्ती छिरेको बाघलाई नियन्त्रणमा लिइएसँगै पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको चिन्ता बढेको छ । बाघलाई निकुञ्जको उद्धार केन्द्रमा ल्याउने चर्चा छ ।
हाल निकुन्जको आधाभारस्थित कार्यालय परिसरमा रहेको उद्धार केन्द्रको खोरमा २ वटा बाघ मात्र राख्ने क्षमता छ । यसअघि नै २ वटा बाघ खोरमा रहेकाले तेस्रो बाघलाई कहाँ राख्ने प्रश्न उठेको प्रशासनको भनाइ छ ।
निकुञ्ज कार्यालयका संरक्षण एवम् सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार उद्धार केन्द्रमा ३ वटा खोर छन् । तेस्रो खोर पनि बाघले भरिए सबै खोरको सरसफाइ र व्यवस्थापनमा समस्या हुने उनले बताए ।
‘एउटा खोरको सफाइ गर्दा खाली रहेको खोरमा बाघलाई सारेर सफाइ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तीनवटै खोर भरिए सरसफाइ गर्न असम्भव हुन्छ, यस्तो हुँदा खोर दुर्गन्धित हुने र मर्मत एवम् व्यवस्थापनमा कठिनाइ हुन्छ ।’
बाघ थपिँदै गए तिनलाई दिइने आहारको बजेट पनि अपुग हुने भगत बताउँछन् । ‘उद्धार केन्द्रमा सीमित बजेट हुँदा बाघ थपिँदै गए तिनलाई आहार पुर्याउनै समस्या हुन्छ,’ उनले भने, ‘एउटा बाघलाई एक दिन बिराएर ५ किलो राँगाको मासु दिइन्छ, आहारको बजेट अभाव भए दातृसंस्थालाई गुहार्नु पर्ने अवस्था आउँछ ।’
३ महिनाअघि केन्द्रमा २ वटा बाघ ल्याइएका थिए । तीमध्ये एउटा निकुञ्जकै मकवानपुर मनहरी गाउँपालिका–५ बाट उद्धार गरी ल्याइएको हो । यो बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको थियो । निकुञ्ज प्रशासनले उक्त ८ वर्षकी बघिनिलाई नियन्त्रणमा लिएको हो । एउटा दाह्रा झरेको यो बघिनी सिकारकै क्रममा घाइते भएको हुन सक्ने अनुमान गरिएको छ ।
अर्को बाघ चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यसरी नै मानव बस्तीबाट उद्धार गरी पठाएको हो । यो बघिनी करिब ४ बर्षको रहेको छ । आफ्नो निकुञ्जको उद्धार केन्द्र बाघले भरिएपछि चितवन निकुञ्ज प्रशासनले यहाँ पठाउने गर्छ ।
निकुञ्जकै स्काउट तथा गेमस्काउट कर्मचारीले बाघ स्याहार्छन् । खोरको सरसफाइ गर्ने, घाइते तथा बिरामी रहेका बाघको औषधोपचारको व्यवस्था मिलाउने र बाघलाई दैनिक आहारा दिने काम पनि उनीहरुले नै गर्नुपर्छ ।
उद्धार केन्द्रमा राखिएका बाघलाई फेरि उनीहरुको प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । यसका लागि विभागको अनुमति लिनुपर्छ । गत वर्ष केन्द्रमा राखिएका ३ वटै बाघ केन्द्रमै मरेपछि खोर खाली भएको थियो
३ वर्षअघि गरिएको गणनामा पर्सा निकुन्जमा बयस्क बाघको संख्या ४१ पुगेको थियो । संरक्षण क्षेत्रमा गरिएको पछिल्लो प्रयासको कारण बर्सेनि बाघको संख्या बढ्दै गएको हो । हाल भने निकुञ्जमा बाघको संख्या झनै बढेको अनुमान गरिएको छ । १३ वर्षअघिसम्म पनि निकुञ्जमा ३ वटा मात्र बाघ थिए ।
