अनलाइन ठगीका घटना बढ्दै

फाल्गुन १९, २०८१

शंकर आचार्य

Online fraud cases are on the rise

पर्सा — प्रहरीले विशेष सूचनाको आधारमा फागुन १० गते वीरगन्ज महानगरपालिका-१२ मूर्लीस्थित एक घर भाडामा लिई विद्युतीय उपकरण राखी अनलाइन जुवा खेलाइरहेको अवस्थामा भारतीय नागरीक रविशंकर ठाकुरलाई पक्राउ गर्‍यो । ठाकुरको कोठाबाट प्रहरीले ल्यापटप, राउटर, हेडफोनलगायतका उपकरण बरामद गरेको थियो । 

अनलाइन ठगीमा संलग्न व्यक्ति पक्राउ परेको यो पछिल्लो घटना हो । प्रहरी तथ्यांकले पनि जिल्लामा अनलाइन ठगीका घटना बर्सेनि बढ्दो क्रममा रहेको क्रममा रहेको देखाएको छ । गत आर्थिक वर्षभरमा कार्यालयमा अनलाइन ठगीसम्बन्धी १ सय ९६ उजुरी निवेदन परेको थियो । तीमध्ये ५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो । 

चालु आवको फागुन मसान्तसम्ममा १ सय ९ वटा यस्ता उजुरी निवेदन परिसकेको छ । ती तीन वटा मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको छ ।  पर्सा प्रहरीका प्रवक्ता डीएसपी सुवास भट्ट उजुरी निवेदन मध्ये अधिकांश अनलाइन सपिङ, चिठ्ठा परेकोलगायतका उजुरी रहेका छन् ।

पक्राउ पर्नेहरूमा पनि नेपाली मात्र नभई भारतीय गिरोह र त्यसमा संलग्न व्यक्तिहरूसमेत हुने गरेका छन् । पछिल्लो केही वर्षयता यस्ता गिरोह क्रिकेट खेलमा सट्टेबाजी गराउन पनि सक्रिय रहेका छन् । डीएसपी भट्ट भन्छन्, ‘कतिपय शिक्षित र प्रतिष्ठित व्यक्तिहरु पनि यसरी ठग गिरोहको फन्दामा परेका छन्,’ उनले भने, ‘सामाजिक प्रतिष्ठा गुम्ने डरले उनीहरु आफ्नो परिचयसमेत गोप्य राख्न खोज्छन् ।’ 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully