मधेशमा सामान्य बेमेलमै हत्यासम्म

सामान्य निहुँ, विवाहेत्तर सम्बन्ध, पति–पत्नीबीच ठाकठुकले हत्या बढ्दो 

फाल्गुन १७, २०८१

अजित तिवारी

In Madhesh, there was a general disharmony up to the murder

जनकपुर — गत शनिबार धनुषा प्रहरीलाई बिहान खबर आयो– ‘एउटा घरमा सातादेखि ताल्चा लागेको छ । घरका कोही देखिएका छैनन् । कोलाहल भइरहने घर एकाएक शान्त छ ।’ प्रहरी टोलीले ताल्चा फोडेर घरभित्र छिर्दा पूजा कोठामा माटोको खनिएको देख्यो । शंका लागेर हेर्दा महिलाको शव गाँडिएको भेटियो ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँका हरिराम यादवकी २० वर्षीया श्रीमती अन्जलीदेवी यादवको शव त्यहाँ भेटिएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार अन्जलीको शव सडेको अवस्थामा छ ।

प्रारम्भिक अनुसन्धानमा अन्जलीलाई उनका श्रीमान् हरिरामले नै हत्या गरेर घरको कुलपूजा हुने कोठामा माटोमुनि गाडेको खुलेको छ । अन्जलीलाई फागुन १० गते शनिबार नै हत्या गरेर घरमा गाडेको प्रहरी अनुसन्धानले देखाएको छ । 

‘अन्जलीलाई गत शनिबार नै हत्या गरेर घरमा गाडेको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘हरिरामले गत आइतबार श्रीमती आफूलाई छोडेर भागिन् भनेर गाउँभरि हल्ला फैलाएका थिए । सोमबार आफैं पनि बच्चा लिएर फरार भए । अघिल्लो शनिबार भने उनीहरुबीच झगडा भएको छिमेकीले सुनेको प्रहरीलाई बताएका छन् ।’

अन्जलीका श्रीमान् लागूऔषध सेवन गर्थे । उनीहरुबीच झगडा परिरहन्थ्यो । अन्जलीको हत्यापछि हरिराम १० महिनाकी छोरी लिएर फरार भएका हुन् । 

धनुषा प्रहरीका अनुसार अन्जलीको हत्या भएको रहस्य आठ दिनपछि मात्रै खुलेको छ । डीएसपी सिंहले हरिराम लुकेको हुन सक्ने सम्भावित सबै ठाउँमा खोजतलास भइरहेको र उनी नियन्त्रणमा आएपछि अन्जलीको हत्या गरिएको कारण खुल्ने बताए । 

पर्साको वीरगन्ज–२७ का १९ वर्षीय इशालप्रसाद कुर्मी गत फागुन ७ गते बुवा जोगिन्द्रप्रसादलाई ‘काममा जाँदैछु’ भन्दै घरबाट निस्किएका थिए । अबेरसम्म घर नफर्किएपछि इशालको खोजी गरिदिन परिवारले अर्को दिन जिल्ला प्रहरीमा निवेदन दिए । पर्सा प्रहरीले इशाललाई सम्भावित सबैतिर खोजे । साथीभाइ, घरपरिवार, छरछिमेक र उनी काम गर्नेतिर पनि प्रहरीले खोजी गरे । इशाल ‘हराएको’ ४ दिनपछि फागुन ११ गते भेडाहा खोलामा उनको तैरिरहेको शव भेटियो । 

पर्सा प्रहरीले इशाल प्रकरण अनुसन्धान गर्दा उनको हत्या गरिएको र हत्यामा उनकै साथीहरु वीरगन्ज–२७ का मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी संलग्न रहेको खुल्यो । तास खेल्ने क्रममा ३ हजार ५ सय रुपैयाँलाई लिएर उनीहरुबीच झमेला बढ्यो । ३५ सय रुपैयाँको निहुँमा उनीहरु यतिबिघ्न झोंकिए कि साथी इशालको ज्यान नै लिए । तास खेल्दा पैसामा विवाद हुँदा इशाललाई तीनै जना साथी मिलेर हत्या गरेपछि खोलामा फालिदिएका थिए । तीनै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । 

गत पुस ४ मा धनुषाको मिथिलाविहारी–२ पुरनदाहाको खैरा खोल्सामा बोरामा बाँधेर फ्याँकिएको ३३ वर्षीय शहिद अन्सारीको शव भेटियो । खोल्साको बाटो भएर ओहरदोहोर गर्नेलाई गन्हाएपछि उनीहरुले धनुषा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोल्साबाट झिक्दा शव गन्हाएको मात्र थिएन, पहिचान नहुने गरी कुहिएको थियो । धनुषा प्रहरी प्रवक्ता डीएसपी सिंहका अनुसार स्थानीयले पनि शवलाई पहिचान गर्न सकेनन् ।

‘मृतकको जेनतेन हुलिया मिल्ने गरी स्केच तयार गरेर सार्वजनिक गर्‍यौं,’ डीएसपी सिंहले भने, ‘शव भेटिएको ६६ दिनपछि स्केचमा देखिएको पुरुष आफ्नो श्रीमान् हुन सक्ने भन्दै सम्पर्कमा आइन् ।’ त्यसपछि धनुषा प्रहरीले थालेको अनुसन्धानबाट विवाहेत्तर सम्बन्धले निम्त्याएको हत्याको एउटा डरलाग्दो पाटो उदांगियो । 

धनुषाको कमला नगरपालिका–६ का अन्सारी वैदेशिक रोजगारीमा कतारमा बस्थे । धनुषाकै मिथिलाबिहारी नगरपालिका–६ की अनिताकुमारी यादवका श्रीमान् राजकिशोर यादव पनि वैदेशिक रोजगारीमा साउदी अरबमा थिए । कतारमा रहेका अन्सारीको अनितासँग फोन सम्पर्क भयो । हाई–हेल्लोबाट सुरु भएको उनीहरुबीचको कुराकानी गाढा प्रेममा बदलियो ।

अन्सारीले अनितालाई कतारबाट पैसा पनि पठाइदिन्थे । धनुषा र कतारमा रहेका अनिता र अन्सारीबीचको प्रेम फोनमा मात्र सीमित रहेन । अन्सारी घर फर्किंदा अनितासँग बाक्लै भेटघाट हुन्थ्यो । अनिताका श्रीमान् राजकिशोर साउदीबाट फर्केपछि अन्सारीलाई कतारबाट बोलाएर हत्या गर्ने उनीहरूले योजना बुने । 

अन्सारीसितको प्रेमले ‘तनाव’ दिन थालेपछि अनिताले उनकी श्रीमती अजिमा खातुन बिरामी रहेको नक्कली मेडिकल रिपोर्ट पठाएर अन्सारीलाई कतारबाट गत मंसिर २६ गते नेपाल बोलाइन् । काठमाडौं ओर्लिएपछि अन्सारीले पहिलो फोन अनितालाई नै गरेका थिए । दुवैबीच भेट्ने सल्लाह भयो । धनुषा प्रहरीका डीएसपी सिंहका अनुसार सल्लाह अनुसार नै अन्सारी अनिताको घर पुगे ।

‘अनिता र उनका श्रीमान् राजकिशोरले अन्सारीलाई बेडरूममा बन्धक बनाएर राखे,’ डीएसपी सिंहले भने, ‘मंसिर २७ गते बिहान बञ्चरोले हिर्काएर हत्या गरेको देखिन्छ ।’ बोरामा शव बाँधेर खोल्सीमा फालिदिए । अनिताका श्रीमान् लगत्तै राजकिशोर साउदी फर्किए । अनिता भने प्रहरी हिरासतमा छिन् । डीएसपी सिंहका अनुसार अदालतमा मुद्दा दर्तापछि राजकिशोरलाई झिकाउन हेडक्वाटरमार्फत इन्टरपोललाई पत्र लेखिने बताए ।

मधेशमा पछिल्ला दिनमा हत्याले अर्कै रूप लिन थालेको प्रहरीकै अनुसन्धानले देखाएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको पुससम्म मात्रै मधेशमा ४३ जनाको हत्या भएको छ । तीमध्ये २७ पुरुष र १६ जना महिला छन् । यो अवधिमा धनुषा र सप्तरीमा ६–६, सिरहा र महोत्तरीमा ५–५, सर्लाहीमा ८, रौतहटमा ४, बारामा ७ तथा पर्सामा २ जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न ४२ पुरुष र १७ महिलासहित ५९ जनालाई पक्राउ गरेको छ ।

यस्तै, आर्थिक वर्ष ०८०/०८१ मा मधेश प्रदेशमा १ सय २८ जनाको हत्या भएको थियो । जसमध्ये ८९ जना पुरुष र ३९ जना महिला छन् । प्रदेश प्रहरीका अनुसार यो अवधिमा धनुषामा २१ जना, सिरहामा २०, रौतहट र पर्सामा १८–१८, सप्तरीमा १७, बारामा १५, सर्लाहीमा १० र महोत्तरीमा ९ जनाको हत्या भएको थियो । गत आर्थिक वर्षमा प्रहरीले हत्याका १ सय १८ वटा घटनामा २ सय ६२ जनालाई पक्राउ गरेको थियो । आर्थिक वर्ष ०७९/०८० मा मधेश प्रदेशमा १ सय १७ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । जसमा ७५ पुरुष र ४२ महिला छन् । यो अवधिमा सप्तरी र बारामा १४–१४, सिरहा र महोत्तरीमा १२–१२, धनुषा र सर्लाहीमा १५–१५, पर्सामा १६ तथा रौतहटमा १९ जनाको हत्या भएको थियो । यो अवधिमा हत्याका १ सय १४ वटा मुद्दा दर्ता गरेर १ सय ६० जनालाई पक्राउ गरिएको थियो ।

वैदेशिक रोजगारी, डिजिटल प्लेटफर्मको दुरुपयोग, घरपरिवारको झमेला र अनैतिक सम्बन्धले पछिल्लो समय हत्या निम्त्याएको धनुषा प्रहरीका डीएसपी सिंह बताउँछन् । ‘हत्याको घटनाले मधेशमा अर्कै रूप लिएको छ,’ उनले भने, ‘पति–पत्नीबीचको तिक्तता हत्यासम्म पुग्न थालेको छ । साथीभाइबीचको सानो बेमेलमै ज्यान लिने काम भइरहेको छ ।’

मधेश मामिलाका जानकार रोशन जनकपुरी मधेशको समाज एकलकाँटे हुँदै गएको र अरुको समस्यामा मतलब नगर्ने हुन थालेको बताउँछन् । युवामा पैसाको भोक, लागूऔषधको खुलेआम बिक्री र प्रयोग बढ्नु, बिहेलगत्तै वैदेशिक रोजगारीमा जाने क्रमले अपराध तथा हत्यासम्मका घटना बढिरहेको पाइएको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully