रौतहट — रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले बन्द गर्न निर्देशन दिएका छन् ।
चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका हुन् । उनी अनुगमनमा आएको सइँको पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।
चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल दर्ता र मापदण्डविपरीत चलाइएको पाएकाले बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनी अनुगमनमा आउँदा पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर तानेर भागेका थिए ।
मुख्यमन्त्री सिंहले चन्द्रनिगाहपुरमा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालन गरेको र आईसीयू, एमर्जेन्सी कक्ष मापदण्डविपरीत भएको पाइएको बताए । ‘केही अस्पतालले काठमाडौंका ठूला अस्पतालसरह बिरामीसित रकम असुलेको पाइयो,’ उनले भने, ‘प्रक्रिया पुर्याएर मापदण्डअनुसार सञ्चालन गर्छन् भने ठिक छ, अन्यथा हामी कानुनको दायरमा ल्याउँछौं । कारबाही गरेरै छाड्छौं ।’ बन्द गर्न भनिएका अस्पताल आइतबार बिहानदेखि खुला गरेको छ/छैन भनेर पुनः निगरानी गर्न मुख्यमन्त्री सिंहले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईलाई निर्देशनसमेत दिएका छन् । 
मुख्यमन्त्री सिंहले बन्द गर्न भनिएका अस्पताल अटेर गरेर खोलेमा संचालकलाई ल्याएर थुन्न समेत निर्देशन दिएको डीएसपी राईले बताए । १५ सय्याको अस्पताल सञ्चालनका लागि स्थानीय तहसित अनुमति लिएको हुनुपर्छ । त्यसभन्दा माथिको प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्विकृत लिनुपर्ने प्रावधान छ । तर चन्द्रपुर अस्पतालबाहेक १० अस्पताल बिनास्विकृत सञ्चालन गरेको पाइएकाले बन्द गर्न पत्र दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । मुख्यमन्त्रीसँगै मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुघन कोइरी, निमित्त सचिव राजेश मिश्र र जनस्वास्य अधिकृत सन्तोष ठाकुर पनि आएका थिए ।
जिल्लाको चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायतका क्षेत्रमा सञ्चालनमा रहेका धेरै अस्पताल दर्ता र मापदण्डविपरीत रहेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ ।
जिल्लामा पछिल्लो समय मापदण्डविपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थलसमेत छैन । कुनै नहरको डिलमा सञ्चालनमा छन् । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
अस्पताल मापदण्डमा धूलो, धूवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको क्षेत्र हुनु पर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्छ । सवारी पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने मापदण्ड बनाइएको छ । तर यहाँका अधिकांश अस्पतालले यो मापदण्ड पूरा नगरेको मुख्यमन्त्री सिंहले सुनाए ।
बिरामी कुरुवादेखि बिरामीलाई खानको समेत समस्या छ । त्यसका लागि क्यान्टिनको व्यवस्था छैन । जिल्लामा खुलेका धेरै निजी अस्पतालको आफ्नो छुट्टै भवन छैन । साँघुरा घरमा जबरजस्ती अस्पताल चलाइएको छ ।
