पर्सा — सापटी दिएको ३ हजार ५ सय रुपैयाँ मागेपछि आक्रोशित युवकले फिल्मी शैलीमा साथीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेका ३ जनालाई सार्वजनिक गरेको छ । फागुन ११ को साँझ साढे ५ बजे वीरगन्ज महानगरपालिका–२८ जगरनाथपुर ढाँटभन्दा करिब ५ सय मिटर पश्चिम भेडैया खोलामा वीरगन्ज–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो । एसपी गौतम मिश्रसहितको टोलीले गरेको अनुसन्धानबाट फागुन ७ साँझ ६ बजेर १० मिनेटमा इशालको हत्या भएको खुलेको हो ।
इशालको हत्यामा उनकै छिमेकी साथीहरू १९ वर्षीय मुकेशप्रसाद यादव, १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीया मुना तिवारीको संलग्नता रहेको खुलेको छ । मुकेश फागुन ७ मा इशाललगायत छिमेकी साथीहरू सहित घटनास्थलनजिक तास खेल्न गएका थिए । त्यहाँ पैसाको विषयमा वादविवाद हुँदा अरुण र मुनासहितको मिलेमतोमा इशालको हत्या गरी भेडैया खोलामा फालेको मुकेशले बयान दिएको प्रहरीले जनाएको छ ।
एसपी मिश्रका अनुसार मृतक इशाल र मुकेश दुवैले तास खेल्दा पैसा हारेका थिए । त्यस क्रममा मुकेशले इशालसँग ३ हजार ५ सय रुपैयाँ सापट लिएका थिए । तास खेलिसकेलगत्तै इशालले पैसा मागेपछि मुकेश आक्रोशित भएका थिए । ‘आक्रोशित मुकेशले त्यसै दिन दक्षिण भारतीय चलचित्र मार्को पनि हेरेको बताएका छन्,’ मिश्रले भने, ‘उक्त चलचित्रका खलनायकले कुटेको शैलीमा देखेअनुसार नजिकको भिलोरको रुखमा पटक–पटक टाउको ठोक्काएर आफूले इशालको हत्या गरेको मुकेशले स्वीकारेका छन् ।’ चलचित्र हेरिरहने मुकेशले ती खलनायकको अभिनयबाट प्रभावित हुने गरेको बयानका क्रममा बताएका छन् ।
टाउकोमा गम्भीर चोट लागेर अचेत भएका इशाललाई तीनै जना मिलेर उनकै सर्टले हात पछाडितर्फ बाँधेर खोलामा फालेका थिए । साथमा उनको साइकल पनि खोलामा फालिदिएका थिए । इशालको शवसँगै उनको पर्स, साइकल, चप्पल, मोबाइललगायत घटनास्थलबाट बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतमा पेस गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
