गाँजासहित २ पक्राउ 

फाल्गुन १५, २०८१

शंकर आचार्य

2 arrested with marijuana

पर्सा — प्रहरीले लागूऔषध गाँजाको तस्करी कार्यमा संलग्न २ जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–४ भथौराका १९ वर्षीय अर्जुन महतो र पटेर्वासुगौली–१ का ३० वर्षीय असलम अन्सारी छन् । 

महतोलाई जिराभवानी गाउँपालिका–३ जीतपुरस्थित सडक खण्डबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले बुधबार दिउँसो १ बजे पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेको पैदलयात्री महतोलाई रोकी चेक गर्दा उनले बोकेको दुबै हातमा कालो प्लाष्टिकभित्र राखिएको २३/२३ किलोका २ वटा पोका लागूऔषध गाजा फेला परेको थियो । बुधबार नै सेनाको सबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त टोलीले भाठा मेला डिउटीबाट फर्कने क्रममा पटेर्वासुगौली–१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पुरानो भाठास्थित सडकखण्डमा भाठा मन्दिरबाट सिकारी बास स्थानतर्फ आउँदै गरेको पैदलयात्री अन्सारीलाई गाँजासहित पक्राउ गरेको थियो । 

शंकास्पद रूपमा टाउकोमा बोरा बोकी आउँदै गरेका अन्सारीलाई जाँच गर्दा उनले बोराभित्र लुकाइछिपाई राखेको ३ पोकामा रहेको ३० किलो लागूऔषध गाँजा फेला परेको थियो । पर्सा प्रहरीले उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । 

दुवैलाई लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully