पर्सामा मिटरब्याजपीडितलाई ५६ बिघा जग्गा फिर्ता, ३१ करोड रुपैयाँमा मिलापत्र

फाल्गुन १३, २०८१

शंकर आचार्य

56 bighas to the victim of meter exploitation in Parsa Return of land, settlement for Rs 31 crore

पर्सा — पर्सामा मिटरब्याजीविरुद्ध भएका कारबाहीमा ५६ बिघाभन्दा बढी जग्गा पीडितले फिर्ता पाएका छन् । त्यसैगरी, साहुको ५६ करोडभन्दा बढी माग दाबी रहेकामा ३१ करोड ६० लाख रुपैयाँभन्दा बढी मिलापत्र भई मिटरब्याजीपीडितले राहत पाएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार, मंगलबारसम्म ५ सय ७५ सोझै परेको उजुरी र जिल्ला प्रशासन कार्यालयबाट समेत प्राप्त १ हजार ६ सय ६३ गरी कुल २ हजार २ सय ३८ उजुरीमध्ये १ हजार ३ सय ३ उजुरीमा मिलापत्र भइसकेको छ । तीमध्ये प्रशासनमा २ सय २० र जिल्ला प्रहरीाम १ हजार ८३ उजुरीमा मिलापत्र भएको हो । 

कुल उजुरीमध्ये ९ सय ६ मा मेलमिलाप हुन बाँकी छ । दर्ता भएका उजुरीउपर छानबिन गर्दा १४ पुरुष र २ महिला गरी १३ जना आरोपित पक्राउ परेका छन् । आरोपित २९ जनाउपर मुद्दा दर्ता भइसकेको छ ।बढीजसो कपाली तमसुक र दृष्टि बन्धकबाट पीडित भएकाहरुको उजुरी धेरै रहेको छ ।

संख्यात्मक रुपमा पर्सा प्रहरीले मधेश प्रदेशका अन्य जिल्लाको तुलनामा सर्वाधिक उजुरीको छिनोफानो गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास भट्टले दाबी गरे । सामान्यतया मिटरब्याजीले कसैलाई थोरै रकम दिएर त्यसबापतको कपाली तमसुक र दोब्बरीदेखि तेब्बरीसम्म बढीको बै‌क चेक धितोबापत राख्ने प्रवृत्ति रहेको छ । 

यस्ता अधिकांश घटनामा एकै व्यक्तिलाई धितोबापत सापट दिएको रकमको दोब्बरी तेब्बरीभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने गरेको पाइन्छ । यस्ता घटनामा पछि ब्याजको रकम पनि साँवामा गाभेर ब्याजको मिटर कुदाउने चलन छ ।  

कतिपय उजुरीकर्ता उजुरी गरिसकेपछि आफै सम्पर्कविहीन भएकाले समेत उनीहरुको उजुरीको हकमा छानबिन प्रक्रिया अघि बढाउन समस्या भएको भट्टले बताए ।

राजीनामा पास गरी पीडक भनिएका व्यक्तिलाई दिइसकेको जग्गा पीडितलाई फिर्ता गराउन समस्या हुने गरेको उनी बताउँछन् ।

त्यसैगरी, अदालतबाट फैसला भइसकेका मुद्दामा पनि उजुरी पर्दा त्यसलाई प्रहरीले हेर्न नमिल्ने कानुनी जटिलता रहेको उनले बताए । पीडकहरु आफूविरुद्ध उजुरी परेलगत्तै अदालतमा निषेधाज्ञाको रिट हाल्ने प्रवृत्तिले पनि उजुरी उपरको छानबिन प्रक्रियामा जटिलता आउने गरेको उनको भनाइ छ । 'प्रहरीसमक्ष एकथरी सहमति गरेर जाने तर दुवै पक्ष घर पुगेपछि त्यो समहतिमा कायम नहुने प्रवृत्तिले पनि समस्या भइरहेको छ,' उनले भने ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully