पर्सा — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहुँच हुनुपर्ने बताएका छन् ।
रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल वीरगन्जको सोमबार आयोजित स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यो अस्पतालले स्थापनाकालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गरे ।
अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उनका परिवारको योगदान स्मरण गर्दै उनले अस्पतालले आँखा उपचार क्षेत्रमा ठूलो फड्को मारेको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले २०३१ फागुन १२ मा वीरगन्जको लोहारपट्टीमा ५ शय्याबाट सुरु गरिएको यो अस्पताल २०४२ सालमा आफ्नै भवनमा सञ्चालनमा आई १ सय ७५ शय्याको बनेको जानकारी गराए । ५० वर्षको अवधिमा अस्पतालले २७ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको र ४ लाख नेत्र शल्यक्रिया गरेको उनले बताए ।
कार्यक्रममा २ लाख ५१ हजार १ सय ११ रुपैयाँको हीरालाल केडिया ज्योतिर्गमय पुरस्कार नेत्र चिकित्सक डा सोनु दुलाललाई प्रदान गरियो । अस्पतालका पूर्वअध्यक्ष हीरालाल केडियाको स्मृतिमा स्थापित यो पुरस्कार पाउने दुलाल प्रथम व्यक्ति हुन् ।
उपराष्ट्रपति यादवले दुलाललाई पुरस्कार प्रदान गरेका थिए । उपराष्ट्रपति यादवले अस्पतालको स्मारिका विमोचन गर्नुका साथै अपांग तथा दृष्टिविहीनलाई ह्विलचियर तथा सेतो छडी हस्तान्तरण गरेका थिए ।
