महाकुम्भ गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन

फाल्गुन ११, २०८१

विनय आजाद

Two old women from Siraha who went to Mahakumbh are without contact

सिरहा — भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् । सुखीपुर नगरपालिका-५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका-३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् ।

जसमध्ये पलास मेला भरेर आफन्तसाग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन बनेको परिवारले जनाएको छ । परिवारले निरन्तर खोजी गरे पनि उनी भेटिएकी छैनन् ।

भारतको स्थानीय प्रहरीमा पनि खोजी कार्यका लागि निवेदन दिएको र आफूहरुले पनि खोजी गरिरहेको भए पनि आमालाई फेला पार्न नसकेको छोरा रामरिझन यादवले बताए । उनका अनुसार, पलासले रातो रंगको साडी लगाएकी छिन् ।

यसैगरी, सुलेना महाकुम्भ मेलाबाटै सम्पर्कविहीन छिन् । उनी पनि बिहीबार नै भीडमा हराएको उनको परिवारले जनाएको छ । आफन्तले मेलामा खोजबिन गरिरहे पनि उनलाई फेला पार्न सकेका छैनन् ।

आफूहरुले स्थानीय प्रहरीमा निवेदन दिएको र स्वयं खोजीमा निरन्तर खटिए पनि फेला पार्न नसकेको भन्दै आफन्तले सरकारसाग पहल गरिदिन अपिल गरेका छन् । ‘सबैतिर भौतिरिए पनि हामी सकिरहेका छैनौं,’ आफन्त बद्रिनारायण यादवले भने, ‘सरकारले पहल गरिदिए प्रभावकारी हुन्थ्यो ।’

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully