सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा उक्त जाहेरी पेस गरेका हुन् ।
पीडित परिवारका अनुसार कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दिइएको छ । जसमा सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्च गरी ८ जनालाई किटान गरिएको छ ।
पीडित परिवारबाट आएको पूरक जाहेरी आफूहरूले राखेको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको लहानका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । 'यस घटनाका विषयमा आएका तमाम कुरामाथि हामीले गहिरो अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'पूरक जाहेरी आएपछि अब हामीलाई झन् सहज हुन्छ ।'
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
