झा दम्पती हत्या : तेस्रो दिनको नियमित सुनुवाइ स्थगित

फाल्गुन ८, २०८१

सन्तोष सिंह

Jha couple murder: Third day of regular hearing adjourned

धनुषा — महोत्तरीको पिपरा सहोडवाका मुसाफिर झा र गीतादेवी झा हत्या मुद्दाको नियमित सुनवाइ स्थगित भएको छ ।

जिल्ला अदालतमा बिहीबार हत्या मुद्दाको नियमित सुनवाइ भइरहेको थियो । अभियुक्तका तर्फबाट बहस भइरहेकै बेला इजलास नं. ६ की न्यायाधीश फणेश्वरी घिमिरले बीचमै बहस रोकेर सुनवाइ स्थगित गरेकी हुन् ।

न्यायाधीश घिमिरे र अदातलका कर्मचारी झाको घरमा बुधबार पुगेर गरिएको संवादमाथि अधिवक्ताहरुले शंका गरिरहेका अवस्थामा सुनवाइ स्थगित भएको हो । बहसको तेस्रो दिन बिहीबार न्यायाधीशले केही कागजात हेर्न बाँकी रहेकाले बहस रोक्न भनेको मृतकका छोरा मनीष झाले बताए ।

'अदालतमा दुई दिनदेखि भइरहेको क्रियाकलापले न्याय नपाउने हो कि भन्ने शंका लाग्न थालेको छ,' मनीषले भने, ‘घरमा आएर न्यायधीश घिमेरेले थुनामा रहेका हत्याका मुख्य योजनाकार भारतीय नागरिक हरेन्द्र ठाकुरको मिसिलमा कुनै प्रमाण नरहेको बताएपछि आर्थिक चलखेल भएको हुन सक्ने शंका लाग्न थालेको छ ।’ घरमै गएर न्यायधीशले गरेको संवाद र इजलाश नंं. ६ मै लगातार ५ चोटी पेशी पर्नु, अन्य इजलासमा पेशी पर्दा अभियुक्तका तर्फबाट पेशी सारिनुले शंका बढेको उनको भनााइ छ ।

पीडितका तर्फबाट उद्धव क्षेत्रीले बहस गरेका छन् भने अभियुक्तका तर्फबाट अधिवक्ताहरु देवेन्द्र ठाकुर निराला, रमेश पाण्डे, घनश्याम शर्मा, गौतम भट्टराई र हेम कार्कीले बहस गरेका छन् ।

२०७७ फागुन ११ मा पिपरा गाउँपालिका–५ सहोडवाका झा दम्पती अपहरणमा परेका थिए । चैत्र १२ गते पिपरा–मटिहानी सडकखण्डमा रहेको कल्भर्ट नजिकै उनीहरुको शव बोरामा सडेको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न ९ जनालाई पक्राउ गरी मुदा चलाएको थियो । हत्या आरोपमा पिपरा गाउँपालिका–५ बस्ने ७२ वर्षीय तेजनारायण झा, अंशु झा, कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव रजिन्द्र यादव, तारादेवी झा, बबलु झासहित भारतीय नागरिक हरेन्द्र ठाकुर पक्राउ परेका थिए । आरोपितमध्ये कैलाश, हरेन्द्र र रामबाबु पूर्पक्षका लागि थुनामा छन् ।

तारादेवी झालाई जिल्ला अदालतले २०७८ वैशाख १६ गते २ लाख धरौटीमा तारेखमा छाडेको थियो । अंशु झा पनि ५० हजार धरौटीमा छुटेका थिए । पुस ४ गते उच्च अदालत जनकपुरले बबलु झालाई २ लाख सुरेन्द्र यादव र रजिन्द्र यादवलाई ५/५ लाख धरौटीमा छाडेको थियो ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully