१६ वर्षदेखि छोरीको हात समातेर हिँडिरहेका शिवलाललाई सहयोग

फाल्गुन ६, २०८१

लक्ष्मी साह

Support to Shivlal, who has been walking holding his daughter's hand for 16 years

काठमाडौँ — १६ वर्षदेखि छोरीको हात समातेर हरेक दिन कम्तीमा २६ किलोमिटर हिँडनुपर्ने बाध्यतामा रहेका ५४ वर्षीय दृष्टिविहीन शिवलाल मण्डललाई सहयोग मिलेको छ । शिवलालको संघर्षबारे ईकान्तिपुरमा समाचार प्रकाशित भएपछि व्यापारिक संस्था विशाल ग्रुपको विशाल ग्रुप फाउन्डेसनले कलैया उपमहानगरपालिका-३ बैद्यनाथपुरका मण्डललाई ५० हजार बराबरको खाद्या, कपडा, जुत्ता लगायतका जिन्सी सामान प्रदान गरेको हो ।

फाउन्डेसनका व्यवस्थापक राहुल श्रेष्ठले ईकान्तिपुरमा समाचार प्रकाशित भएपछि सहयोग गरेको बताए । ईकान्तिपुरमा मण्डलको जीवन संघर्षबारे माघ ४ मा समाचार र भिडियो प्रकाशित भएको थियो ।

सहयोग पाएपछि प्रसन्न देखिएका शिवाललले लौरो, चस्मा र साइकलले आफ्नो जीवन सहज हुने बताए । उनले भने, ‘यतिको सहयोग मेरा लागि धेरै राहत भयो ।’  

एक हातमा लौरी अनि अर्को हातमा छोरी शकुन्तलाको सहारामा हरेक दिन शिवलाल वैद्यनाथपुर गाउँबाट १३ किलोमिटर दूरी छिचोलेर दसगजा पारि रहेको आदापुरको पोखरी बजार पुग्छन् । पोखरी बजारबाट उनी हरेक दिन विभिन्न प्रकारका १५/२० केजी बिस्कुट किनेर फर्किन्छन् । अनि दिनभर छोरीको हात समातेर कलैया बजारका पसल–पसल पुगेर बिस्कुट बेच्छन् । यही कमाइबाट उनको परिवारको गुजारा चलेको छ ।

२ कठ्ठा जमिन अनि खपडाको घर । यही त उनको सम्पत्ति हो । उनकी श्रीमती १० कठ्ठा खेत अँधियामा कमाउँछिन् । छोरीको सहारामा शिवलालले कमाउने र श्रीमतीले कृषि कर्मबाट आर्जन गरेर ६ छोराछोरीसहित परिवारको गुजारा चलेको छ । पसल-पसल डुलेर बिस्कुट बेच्नु शिवलालका निम्ति सजिलो भने छैन । कहिले घाम त कहिले पानी सहनुपर्छ । एकपकट त उनले बेच्दै गरेको बिस्कुट प्रहरीले खोसिदिएको थियो ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully