सिरहा बलात्कार घटनामा दलित महिला संघले भन्यो - दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति देऊ

फाल्गुन ६, २०८१

विनय आजाद

Dalit Women's Association said in the Sirha rape incident - Punish the guilty, give compensation to the victim's family

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा दलित महिला संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दु:ख व्यक्त गरेको हो ।

जनप्रतिनिधिलगायतले यस्तो जघन्य अपराध घटनामा पञ्चायती गरेर गाउँमै घटना दबाउन खोजेर र प्रहरीले पीडितलाई दबाब दिएर मुद्दा कमजोर बनाउन खोजेर कानुनी व्यवस्थाकै खिल्ली उडाएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । घटनामा संलग्नहरूलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई सुरक्षा, उचित राहत तथा क्षतिपूर्ति दिन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

सदा गत माघ २७ गते रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । त्यसपछि गाउँमै घटना मिलाउन पञ्चायती भए पनि नमिल्दा किशोरी ३० गते साँझ घरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully