सामूहिक बलात्कारपीडित किशोरी मृत फेला

बलात्कारपछि पञ्चायती बसेर घटना मिलाउने प्रयास

फाल्गुन ४, २०८१

विनय आजाद

Gang rape victim found dead

सिरहा — सामूहिक बलात्कारपछि पञ्चायती बसेर मिलाउने प्रयास गरिएको घटनाकी पीडित किशोरी मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदा गत माघ ३० मा घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

माघ २७ मा राति करिब ९ बजेतिर शौच गर्न निस्किएकी सदा भोलिपल्ट बिहान ३ बजे रुँदै घर आइपुगेकी थिइन् । मृतककी आमा सीतादेवीका अनुसार चोटपटक लागेको जस्तो अवस्थामा देखिएपछि सोधखोज गर्दा रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । स्थानीय रूपेश मण्डलसहित चन्दन साह र रामविनय मण्डलले मुख थुनेर गाउँबाहिर लगेको र हातखुट्टा समातेर पालैपालो करणी गरेको रिंकुले सुनाएको आमा सीतादेवीले बताइन् ।

‘बिहान ३ बजेतिर छोरी पेट दुखिरहेको छ भन्दै घर आइपुगिन्, जीउमा माटो लागेको थियो । सोधपुछ गर्दा घटनाबारे बताइन्,’ उनले भनिन् । झण्डै दुई सय परिवारको बसोबास रहेको भगवतीपुरमा मृतक किशोरीको घर छेउतिर एकान्तमा छ ।

घटनाबारे हल्ला भएपछि केही स्थानीयको पहलमा गाउँमै मिलाउन माघ २९ मा पञ्चायती बसेको थियो । पञ्चायतीमा पनि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको बयान दोहोर्‍याएकी थिइन् । पञ्चायतीमा घटनाका मुख्य आरोपित रुपेशले डेढ लाख रुपैयाँ पीडितलाई दिनुपर्ने निर्णय भएको थियो । तर, रुपेशका आफन्तले घटनामा तीन जना रहेकाले सबैलाई भाग लगाउनुपर्ने भनेपछि बुधबार सोही विषयमा फेरि पञ्चायती बसेको थियो । त्यसक्रममा फेरि पैसा तिर्ने कुरामा विवाद भएपछि पीडित परिवार त्यहाँबाट निस्केर घर फर्किएका थिए ।

पञ्चायतीमा सहभागी एक स्थानीयका अनुसार मंगलबार करिब २५–३० जना गाउँले सहभागी भएका थिए । सबैको कुरा सुनेपछि पञ्चहरूले मुद्दा मामिलातिर गए झन् बद्नामी हुने र गाउँको कुरा गाउँमै राख्नुपर्ने भन्दै किशोरीको परिवारलाई डेढ लाख रुपैयाँ दिएर घटना मिलाउनुपर्ने निर्णय सुनाएका थिए । ‘त्यसमा फेरि १० हजार कम गरेर १ लाख ४० हजारमा कुरा मिलेको थियो । तर, बुधबार बिहानपल्ट रुपेश मण्डलको परिवारले घटनामा अरु दुई जना पनि संलग्न भएकाले उनीहरूले पनि भाग लगाएर तिर्नुपर्ने भन्दै पञ्चायती बसाए,’ ती स्थानीयले भने, ‘त्यहाँ आरोपितहरू बीचमै विवाद भयो । त्यसपछि पञ्चायती निष्कर्षमा नपुग्दै टुंगियो ।’ पञ्चायतीमा पीडित किशोरीले राति ९ बजेतिर शौच गर्न छेउकै खेतमा गएका बेला रुपेश मण्डलसहित तीनै जनाले मुख थुनेर लगेको बताएकी थिइन् । ‘सुरुमा रुपेश र पछि हातखुट्टा समातेर बाँकी दुई केटाले करणी पछि मलाई अढाई बजेतिर छोडिदिए, म तीन बजेमात्रै घर पुगे,’ मंगलबारको पञ्चायतीमा किशोरीले भनेको ती स्थानीयले सुनाए ।

बुधबार आफू छोरीलाई घरमा राखेर टोलतिर निस्किएको र फर्केर आएपछि भित्रै डोरीमा झुन्डिएको अवस्थामा पाएको आमा सीतादेवीले बताइन् । प्रहरीले यो घटनामा पीडित परिवारसँग रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । पीडित परिवारबाट नै एक जनालाई मात्र प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहनको जाहेरी आएकोले दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ । रुपेशविरुद्ध पक्राउ पूर्जी जारी भए पनि फरार छन् । बलात्कारको कुरा पनि आएकाले घटना संवेदनशील देखिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । ‘यो घटना संवेदनशील देखिन्छ, पञ्चायतीमा मिलाएको कुरा थाह पायौं । बलात्कारको कुरा पनि आएकाले पोस्टमार्टमका लागि सुविधायुक्त अस्पताल धरान पठाएका छौं,’ डीएसपी पासवानले भने, ‘थप कुरा खुल्यो भने पीडित परिवारसँग समन्वय गरेर मुद्दा कन्भर्ट गर्न सकिन्छ ।’ मृतक किशोरीका बुवा बिजुल सदा रोजगारीको सिलसिलामा भारतमा थिए । शनिबार मात्रै घर आइपुगेका उनी आफूहरुलाई कानुनबारे जानकारी नभएकोले गाउँसमाजका सबैले भनेअनुसार गरेको बताउँछन् । ‘हामीलाई नियम, कानुन थाह छैन,’ उनले भने, ‘सबैले जे-जे भन्यो त्यसै हिसाबले हामीले मुद्दा दिएका हौं ।’

नवराजपुर–१ का वडाध्यक्ष नवीनकुमार यादव यो घटनामा राजनीतिकरण र चलखेल भएको दाबी गर्छन् । घटनामा तीन जना संलग्न रहेको किशोरीले बयान दिएको भए पनि अहिले चलखेल भइरहेको उनको भनाइ छ । ‘युवतीले नै तीन जनाले करणी गरेको भनेकी थिइन्, त्यसकै आधारमा मुद्दा अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘तर, अहिले कसैलाई कसैलाई जोगाउने खेल भइरहेको छ, त्यसमा करणीको मुद्दा पनि छैन ।’ मृतकको घरमै पुगेर घटनाबारे जानकारी लिएका राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले पीडित परिवारलाई दबाबमा पारेर घटनालाई कमजोर बनाउने र विषयान्तर गर्ने प्रयास भइरहेको बताएका छन् । उनले घटनाको सूक्ष्म अनुसन्धानको माग गरेका छन् । ‘सामूहिक बलात्कारजस्तो जघन्य अपराधमा पनि पञ्चायती गर्नु नै गलत हो, मृत्यु पनि शंकास्पद छ,’ सदाले भने, ‘पीडित परिवारलाई सबैतिरबाट टर्चर दिने काम भएको छ, मुद्दा नै कमजोर बनाएर विषयान्तर गर्न खोजिएको छ, यसमा सरकारको ध्यान जानुपर्छ ।’

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully